कोभिड संक्रमणको जोखिम बढ्दै गएपछि उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले सार्वजनिक सवारी सञ्चालनमा कडाई गर्ने निर्णय गरेका छन् ।
मंगलबार रातिदेखि लागू हुने गरी उपत्यकामा चल्ने सार्वजनिक सवारीमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने आदेश जारी गरिएको हो ।
त्यस्तै, सबै यात्रुले अनिवार्य रुपमा मास्कको प्रयोग गर्नुपर्नेछ । चालक तथा सह-चालकले मास्कसँगै फेस सिल्ड पनि लगाउनु पर्नेछ । उपत्यकामा सञ्चालन गरिने सवारी साधनलाई दैनिक रुपमा निसंक्रमित पार्न प्रशासनको आदेश छ ।
सवारी साधनको ढोकामा र भित्र यात्रुका लागि सेनिटाइजरको व्यवस्था गर्नुपर्नेछ । कुनै यात्रुले मास्क नलगाई आएमा चालक वा सह-चालकले मास्क उपलब्ध गराउनुपर्ने प्रशासनको निर्णयमा उल्लेख गरिएको छ । त्यसको शुल्क भने पाँच रुपैयाँभन्दा बढी लिन पाइने छैन । मास्क लगाउन अटेर गर्ने व्यक्तिलाई सवारी साधनमा प्रवेश नदिन प्रशासनले आग्रह गरेको छ ।
यस्तै, उपत्यकाका धार्मिकस्थलमा हुने नित्य पूजा र प्रार्थनाबाहेकका सबै पूजामा रोक लगाईएको छ ।
देशव्यापीरुपमा बढ्दै गएको कोरोना सङ्क्रमण जोखिमलाई मध्यनजर गर्दै मन्दिर दर्शन र पूजाआजा अस्थायी रोक लगाइएको ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले जानकारी दिए । यो नियम माघ मसान्तसम्म लागू हुनेछ ।
यसैगरी, माघ ७ गतेदेखि जिल्लाभित्रका सबै सार्वजनिक निकायमा सेवा प्राप्त गर्न खोप कार्ड (मोबाइलमा फोटो भएपनि हुने) अनिवार्य गर्ने निर्णय पनि तीनै प्रमुख जिल्ला अधिकारीहरुले गरेका छन्।