logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

२२ वर्षको उमेरमै गोरीकलाको सिन्दुर पुछियो


अंकुरण खबर
923
Shares

हिउँद महिनाको समय फुस्स उडेको अनुहार, टाउको ओढेको हरियो रंगको पछ्यौरा, काखमा दुई दुधे बालक च्यापेर बसेकी छायाँनाथ रारा नगरपालिका–८ टोप्ला कि गोरीकलाको मन छियाछिया परेको छ  ।

उनी उमेरले २२ वर्ष पुगिन् । तर, उनको जीवनमा परेको बज्रपातले गौरीकलालाई मात्र होइन जो सुकैलाई पनि स्तब्ध बनाउँछ । उनको यो कलकाउँदो उमेरमा उनको जीवनको साहरा खोसिएको छ । उनको पति टोपबहादुर विष्टले यो संसार छाडेपछि गौरीकला साहराविहीन बन्न पुगेकी छन् ।

गत २६ असोज फुलपातीको दिनमा भएको बस दुर्घटनामा पति टोपबहादुरको मृत्यु भयो । अध्ययनको लागि नेपालगञ्जमा रहेका उनी दसैँ मनाउन घर फर्केका थिए । सोही क्रममा छायाँनाथ रारा नगरपालिका–७ पिना गाउँमा भएको बस दुर्घटनामा टोपबहादुरको मृत्यु भएको थियो ।

पतिको मृत्युपछि गोरीकलालाई दुई सन्तानको लालनपालन र शिक्षादीक्षाको जिम्मेवारी आइपरेको छ । घरमा दुई छोरासहित सासुको हेरचाहको जिम्मेवारी पनि गौरीकलाकै काँधमा छ । ससुराको मृत्यु भइसकेको छ ।

ससुराको निधनपछि टोपबहादुरको सहारामा जीवनयापन गर्दै आइरहेका बिष्टका दम्पती बुबाको निधनको आँसु पुछ्न नपाउँदै टोपबहादुरको पनि मृत्युले गौरीकलाको परिवारमा बज्रपात परेको हो ।

कक्षा १० सम्म अध्ययन गरेकी गोरीकलाकै सल्लाहमा श्रीमान उच्च शिक्षा अध्ययन गर्न नेपालगञ्ज गएका थिए । टोपबहादुरले काम गर्दा जोहो गरिदिएको केही रकमले अहिले छाक टारेका उनीहरू अब के खाने, के गर्ने भन्ने चिन्तामा पिरोलिन थालेका छन् ।

टोपबहादुरले जम्मा गरेको रकम र बिमा गरेको बचतले गोरीकलाले छोरा र सासुको पालनपोषणमा खर्च गरेको बताइन् ।