logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

के जाडोमा छाला सुख्खा हुने,फुट्ने समस्या छ ? यसरी जोगाउनुस् छालालाई ?


अंकुरण खबर
3.107K
Shares

जाडो महिना वा चिसो मौसममा छालामा धेरै समस्या देखिने गर्दछ । सामान्यतया गर्मीको समय भन्दा जाडोको समयमा बढी छालाको हेरचाह गर्नुपर्छ । जाडोमा हावाले मात्र नभई चर्को घामले पनि छालालाई सुख्खा बनाइदिन्छ । हामीले छालाको राम्रोसँग हेरचाह नगर्दा विभिन्न खालका समस्याहरु देखिन सक्दछ ।

हाम्रो समाजमा अझै पनि छालाको समस्यालाई ठुलो समस्याका रुपमा लिइदैन् । सामान्य कुरामा सचेत भएर हेरचाहा गरे सजिलै बच्न सकिन्छ छालाको समस्याबाट । चिसोमा छालामा कस्ता खालका समस्याहरु देखिन्छन् ? बेलैमा ध्यन नदिए कस्तो असर गर्छ ? त्यस्ता समस्या देखिन नदिँन के कस्ता सावधानी अपनाउनु पर्दछ ? आदि बिषयमा अंकुरण खबरका लागि छाला तथा सौन्दर्य विशेषज्ञ डा.अनिल भट्टसँग गरिएको कुराकानी

चिसोमा छालामा कस्ता समस्या देखिन्छन् ?

चिसो समयमा छाला फुट्ने, छाला सुक्खा हुने, छाला चिलाउने जस्ता समस्या अधिकांशलाई देखिने गर्छ । यो समयमा धेरै मात्रामा देखिने समस्या छाला सुख्खा हुने समस्या हो । छाला सुख्खा भएमा चिलाउने,छालामा एलर्जी हुने,खटिरा आउने गर्दछ । त्योसँगै चिसोको मौसममा छालामा एलर्जी हुने, छालामा देखिने कत्ले रोग बढ्ने गर्दछ ।

त्यस्तै बालबालिकामा एम्टोपीक ड्रमोटाइटिस बढ्ने गर्दछ । चिसोमा धेरै घाममा बस्ने हुँदा अनुहारमा देखिएको चायाँपोतो बढ्ने पनि हुन्छ ।

के-कस्ता कारणले छालामा समस्या आउछ ?
छालामा कसैको जन्मजात या बंशाणुगत गुणको कारणले समस्या आउँछ त कसैको वातवरणीय या अन्य कुनै पनि रोगका कारणले समस्या आउन सक्छ । जन्मजात देखिएको समस्यामा पाप्रा उक्लिने, खुट्टा, हात, घाँटी, पेट आदिमा माछाको कत्ला जस्तै देखिने, सुख्खा धेरै हुने गर्दछ । यस्तो सुख्खापनलाई ‘इथायोसिस’ भनिन्छ ।

त्यस्तै बढी चिसो मौसम, विभिन्न प्रकारको एलर्जी हुने, रुघा लाग्ने, मधुमेह, उच्च रक्तचाप, थाइराइड, दम आदि रोगका बिरामीमा छाला सुख्खा हुने समस्या हुनसक्छ ।

त्यस्तै, जाडोमा धेरै मानिसहरू न्यानो हुनका लागि हिटर वा एसीमा बस्छन् । हिटर वा एसीले झन् ‘डिहाइड्रेसन’ गर्छ । शरीरमा पानीको मात्रा कम हुन्छ । जसले छालालाई सुख्खा बनाउँछ । यी पछि सृजना भएका परिस्थितिबाट छालामा देखिने समस्या हुन् ।

कसरी हेरचार गर्ने छालाको ?

चिसोमा मोइस्चराइजरको प्रयोग गर्नुपर्दछ । शरीरको  बाहिर देखिने भागहरुमा अलिबढी मोइस्चराइजर लगाउनु पर्दछ ।

यो समयमा हामीले धेरै तातोपानीले नुहाउने गर्दछौं । तर धेरै तातोपानीले भने नुहाउन हुँदैन । ठिक्कको मनतातो पानीले नुहाउनु पर्दछ । सामान्यतया ३० देखि ३५ डिग्री तातो पानीले नुहाउँदा राम्रो हुन्छ ।

हामीले जहिले पनि नुहाएपछि मोइस्चराइजर अनिवार्य रुपमा शरीरमा लगाउनु पर्दछ । त्यस्तै हामीले जतिपटक हात धुन्छौं त्यतिनै पटक मोइस्चराइजर लगाउने गर्नुपर्दछ । चिसोमा साबुन वा स्याम्पुहरुले नुहाउदा धेरै समय राख्नु हुँदैन ।साबुन वा स्याम्पुहरुले हाम्रो शरीरको छाला झन फुस्रो बनाउने गर्दछ । त्यसैले चिसोमा बडी वासहरुले नुहाउँदा छालालाई राम्रो बनाउछ ।

चिसोमा कस्तो क्रिम लगाउने ?

सबै व्यक्तिलाई एकै प्रकारको क्रिम लगाउने भन्ने हुँदैन् । छालाको प्रकृति हेरेर फरक फरक हुन सक्दछ । तर चिसो समयमा छालालाई राम्रो राख्न गुणस्तरीय ग्लिसिरिनको प्रयोग गर्नु सकिन्छ । ग्लिसिरिनले छालालाई नरम बनाउन मद्धत गर्दछ । साथै कुनै समस्या छैन भने आफुले नियमित लगाउने क्रिमलाई निरन्तरता दिँदा हुन्छ ।

ग्लिसिरिनेसँगै मोइस्चराइजरयुक्त लोसन वा क्रिमहरुको प्रयोग गर्नुपर्दछ । नरिवलको तेलले पनि छालालाई राम्रो राख्न मद्दत पुर्याउछ । सिरामाइट भएको क्रिमहरु प्रयोग गर्दा छालाहरुमा देखिने समस्या कम हुन्छ ।

त्यस्तै घरमै उत्पादन हुने नैनी घ्यूको पनि प्रयोग गर्न सक्छौं । घ्यूले पनि छालालाई फुट्नबाट बचाँउछ । त्योसँगै तोरीको तेल प्रयोग गर्दा पनि छालालाई फुट्नबाट बचाँउन सकिन्छ । साथै न्यानो हुन भन्दै हिटर या एसीको प्रयोग बढी नगर्ने । धेरैनै समस्या आए एक पटक चिकित्सकको परामर्श लिने ।