logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अवैध सुनसहित त्रिभुवन विमानस्थलबाट ३ जना पक्राउ


अंकुरण खबर
1.495K
Shares

प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध सुनसहित तीन जनालाई पक्राउ गरेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तैनाथ प्रहरी टोलीले संयुक्त अरब इमिरेट्स (युएई) बाट आएका गौर नगरपालिका–१० रौतहटका ३२ वर्षीय सुनीलकुमार साह‚ मनहरी–७ मकवानपुरका नवराज परियार र भोटेकोसी–३ सिन्धुपाल्चोकका ३९ वर्षीय दावा छिरिङ शेर्पालाई पक्राउ गरेको हो ।

विमानस्थलको अन्तर्राष्ट्रिय आगमन कक्षबाट पक्राउ परेका उनीहरुको साथबाट १ केजी १ सय ५५ ग्राम सुन बरामद गरेको छ ।

साथै, उनीहरूको साथबाट ४ थान आइफोन पनि बरामद भएको प्रहरीले जनाएको छ । बरामद सुन र आइफोनको मूल्य करिब १ करोड रुपैयाँ बराबरको रहेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार साह र परियार युएईबाट हिमालय एयरलाइन्स तथा शेर्पा सारजहाँबाट एयर अरेबियामार्फत बिहीबार त्रिभुवन विमानस्थल ओर्लिएका थिए ।

पक्राउ परेकामध्ये शेर्पाले मलद्वारमा लुकाएर ल्याएको १ केजी १ सय ५५ ग्राम सुनको मूल्य ८३ लाख ३८ हजार २ सय ४७ रुपैयाँ पर्छ । त्यस्तै साहको साथबाट ६ लाख ४० हजार मूल्य बराबरका ४ थान आइफोन, ३ लाख ८५ हजार २ सय २५ रुपैयाँ बराबरका बेरुवा औंठी र सिक्री बरामद भएको छ ।

परियारको साथबाट १ लाख ६० हजार रुपैयाँ बराबरको एउटा आइफोन र ३ लाख ९५ हजार २ सय २५ रुपैयाँ बराबरका सुनका औंठी र सिक्री बरामद भएको हो ।

पक्राउ परेका तीनै जनालाई बरामद सामानसहित विमानस्थल भन्सार कार्यालयको जिम्मा लगाइएको छ ।