logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एमसीसीबारे प्रचण्डलाई ओलीको जवाफः पहिला सत्तारुढ दलले आफ्नो धारणा प्रस्ट पारोस्


अंकुरण खबर
871
Shares

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का बारेमा सबैभन्दा पहिला सत्तारुढ दलले स्पष्ट धारणा बनाउनुपर्ने बताएका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले टेलिफोनमार्फत प्रतिपक्ष दल एमाले अध्यक्षलाई पार्टीको धारणा प्रस्ट पार्न गरेको आग्रहको जवाफमा ओलीले सबैभन्दा पहिला सत्तारुढ दल स्पष्ट हुनुपर्नेमा जोड दिएका हुन् ।

एमाले प्रचार बिभागका उपप्रमुख बिष्णु रिजालका अनुसार एमसीसीमा एमालेले ‘निर्णय नगरी भएन’ भन्दै हिजो साँझ माओवादी केन्द्रका अध्यक्ष दाहालले ओलीलाई फोन गरेका थिए । जबाफमा ओलीले पहिला सत्तारुढ दलको धारणा मागेका थिए ।

‘तपाईंहरूले पहिले केपी ओलीलाई हटाएपछि पारित गर्छौ भनेर बचन दिनुभएको छ, हटाइसकेपछि चार पाँच महिनामा पारित गर्छौ भनेर लिखित कागज नै गर्नु भएको रहेछ । अहिले सत्ता चलाइरहनुभएको छ । प्रतिनिधिसभामा १ सय ६५ सदस्य छन ।  पहिले आफूले निर्णय गर्नुस,  नेकपा एमाले त निर्णय गरिहाल्छ ।’ ओलीलाई उद्यृत गर्दै रिजालले जानकारी दिए ।

रिजालका अनुसार सत्तारुढ गठबन्धनमा रहेका माओवादी केन्द्रसहित नेपाली कांग्रेस, जनता समाजवादी पार्टी नेपाल, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले एमसीसीबारे पहिला धारणा बनाउनु पर्ने एमालेको अडान यथावत छ ।