logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

लमजुङमा एक लाख २१ हजारले लगाए कोरोनाविरुद्धको खोप


अंकुरण खबर
1.144K
Shares

लमजुङमा १ लाख २१ हजार ४ सय ६३ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । जसमध्ये २ पटक खोप लगाउनेको संख्या १ लाख १५ हजार ४ सय ४७ रहेको छ ।

पछिल्लो समय खोप लगाएका विद्यार्थी र पहिलो खोप ढिला लगाएका ५ हजार ९ सय ९३ जनाले दोस्रो मात्राको खोप लगाएका छैनन् । स्वास्थ्य कार्यालयले कुल १ लाख ३२ हजार ८ सय ७० जनालाई कोरोनाविरुद्धको खोप लगाउने लक्ष्य लिएको थियो ।

पहिलो खोप ९२ प्रतिशतले लगाएको स्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक यम बरालले बताए । उनका अनुसार पूरा खोप (दोस्रो डोज) ८७ प्रतिशतले लगाएका छन् ।

स्वास्थ्य कार्यालयले १८ वर्षमाथिका १ लाख १३ हजार ४ सय ८२ र १२ देखि १७ वर्षका १९ हजार ३ सय ८८ जनालाई कोरोना विरुद्धको खोप लगाउने लक्ष्य लिएको थियो । १२ देखि १७ बर्षसम्मका १६ हजार ४ सय ४२ जनालाई पहिलो डोज मोर्डना खोप लगाइएको छ । दोस्रो खोप १५ हजार ५ जनाले लगाएको स्वास्थ्य कार्यायले जनाएको छ । कार्यालयका अनुसार कुल ५ हजार ५१ जनाले बुस्टर डोज लगाएका छन् ।

स्वास्थ्य कार्यलयका प्रमुख अमर दवाडीका अनुसार स्वास्थ्यकर्मी तथा स्वास्थ्य कार्यालयमा काम गर्ने कर्मचारी,नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, सार्वजनिक फोहोर संकलक सरसफाइकर्मी, एम्बुलेन्स तथा शववाहन चालक, महिला स्वास्थ्य स्वयंसेविका, सरकारी कार्यालयका कर्मचारी, सामुदायिक सेवा प्रवाह गर्ने संघसंस्था, बैंकिङ सेवा, पत्रकार, सार्वजनिक यातायातका चालक तथा सहचालकलाई ‘बुस्टर डोज’ खोप लगाइएको छ ।

पछिल्लो समय जिल्ला अस्पताल लमजुङबाट प्रत्येक साताको सोमबार र बिहीबार नियमित रुपमा खोप दिइएको छ ।