logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

जिल्लामै थोराकोसिन्थेसिस सेवा


अंकुरण खबर
1.872K
Shares

खोटाङको दिक्तेलमा सेवा सुरू भएको फेमिली केयर अस्पतालमा निमोनिया बिग्रेर छातीमा जमेको पिप निकालिएको छ ।

केही समयअघि काठमाडौंबाट दिक्तेलमा स्थानान्तरण गरिएको फेमिली केयर अस्पतालमा दोर्पाचिउरीडाँडाका नारायण राईको निमोनिया बिग्रदा देब्रे छातीमा जमेको पिप निकालिएको हो ।

निमोनिया बिग्रँदै जाँदा फोक्सोमा जमेको करिब ६ सय सिसि पिप निकालिएको फेमिली हेल्थ केयर इन्टरनेशनल एण्ड रिसर्च सेन्टर प्रालिका अध्यक्ष डा. केके राईले बताए । उपचार अभावमा बिरामीको एकतिरको फोक्सोले मात्र काम गरिरहेको अवस्थामा अस्पताल पुर्‍याइएको थियो । जमेको पिप विशेष तरिकाले थोराकोसिन्थेसिस गरेर निकालिएको डा. राईले बताए ।

जिल्ला अस्पतालले रेफर गरेपछि बिरामीलाई फेमिली केयर अस्पताल लगिएको थियो । थोराकोसिन्थेसिसपछि बिरामीको स्वास्थ्यमा सुधार आएको अस्पतालले जनाएको छ ।

जिल्लावासीलाई आफ्नै गाउँठाउँमा इमरजेन्सी स्वास्थ्य सेवा उपलव्ध गराउन काठमाडौंको धुम्बाराहीमा रहेको अस्पताललाई दिक्तेल स्थानान्तरण गरिएको हो । खोटाङमा स्वास्थ्यमा जटिल किसिमका समस्या देखिए हेलिकोप्टर चार्टर गर्दै अन्यत्र जानुपर्ने अवस्था छ । कतिपय बिरामीको अस्पताल लैजाने क्रममा बाटैमा ज्यान जाने गरेको छ ।

५० शैयाको स्वीकृति पाएको अस्पतालमा हाल १५ शैयाको इमरजेन्सी वार्ड सञ्चालनमा ल्याइएको छ ।