logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एमसीसी: प्रदर्शनका कारण नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त, प्रतिनिधिसभा बैठक स्थगित


अंकुरण खबर
767
Shares

अमेरिकी सहायता परियोजना एमसीसीको विपक्षमा भएको प्रदर्शनका कारण नयाँ बानेश्वर स्थित संसद् भवन आसपासको क्षेत्र तनावग्रस्त भएको छ ।

प्रदर्शनकारीहरू संसद् भवन वरपरको निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि उक्त क्षेत्र अस्तव्यस्त भएको प्रहरीले जनाएको छ ।

बानेश्वर क्षेत्रमा एमसीसी विपक्षमा प्रदर्शन

“निषेधित क्षेत्रमा प्रदर्शनकारीहरू प्रवेश गर्ने प्रयास गरेपछि अश्रुग्याँस र वाटर क्यानन प्रयोग गरिएको छ । संसद् बैठकमा विशिष्ट व्यक्तिहरूको आवागमनका कारण पनि त्यो क्षेत्र अलि अस्तव्यस्त बनेको छ,” महानगरीय प्रहरी कार्यालयका प्रवक्ता सन्तोष सिंह राठौरले बीबीसी न्युज नेपालीलाई भने ।

बानेश्वर क्षेत्रमा एमसीसी विपक्षमा प्रदर्शन

प्रहरीका अनुसार बानेश्वार क्षेत्रमा करिब १८०० प्रदर्शनकारीहरू भेला भएका छन्। उनीहरूले प्रहरीलाई ढुङ्गा, इँटा र लाठीले प्रहार गर्दै निषेधित क्षेत्रमा प्रवेश गर्ने प्रयास गरेपछि झडप भएको प्रहरीको दाबी छ ।

प्रवक्ता केसीका अनुसार नेपाल प्रहरीका मात्रै २४०० बढी जनशक्ति नयाँ बानेश्वर क्षेत्रमा परिचालन भएका छन् ।

बानेश्वर क्षेत्रमा एमसीसी विपक्षमा प्रदर्शन

टेलिभिजनमा प्रत्यक्ष प्रसारण भएका दृश्यहरूमा नयाँ बानेश्वरका विभिन्न क्षेत्रमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको देखिएको छ ।

बिहीवारको संसद् बैठकमा एमसीसी परियोजना सम्झौताबारे छलफल हुने सम्भावित कार्यसूची प्रकाशित भएपछि बिहानैबाट संसद् भवन क्षेत्रमा प्रदर्शनकारीहरू भेला भएका थिए ।

एमसीसी अघि बढाउने सरकारको तयारीको विरोधमा सरकारमै सहभागी केही दल समर्थित कार्यकर्ता र भातृ सङ्गठनले समेत प्रदर्शन गरिरहेका छन् ।

सम्भावित अप्रिय घटनालाई ध्यानमा राखी संसद्‌ भवन वरपर सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ ।

बानेश्वर क्षेत्रमा एमसीसी विपक्षमा प्रदर्शन

यसैबीच बिहीवारका लागि तय गरिएको संसद् बैठक अन्तिम समयमा सूचना प्रकाशित गरेर स्थगित गरिएको छ ।

संसद् सचिवालयका महासचिव भरतराज गौतमले सूचना प्रकाशित गर्दै बैठक शुक्रवार १ बजे बस्ने गरी स्थगित गरेका हुन् ।

प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीका अनुसार बिहीवारको बैठकमा एमसीसीको विषयमा सैद्धान्तिक छलफलसँगै महान्यायाधिवक्ता कार्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत कार्यक्रम थियो ।

एमसीसीसम्बन्धी प्रस्ताव अर्थमन्त्री जनार्दन शर्माले पेस गर्ने कार्यसूची थियो ।

प्रधानमन्त्री शेर बहादुर देउवाको आग्रहमा सभामुखले बिहीबार को बैठक पछि सारेको बताइएको छ । बीबीसीको सहयोगमा