logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

युक्रेन-रुस युद्ध : अलपत्र नेपालीको उद्धारमा एनआरएनए सक्रिय, रुसी सेनासँग लड्न युक्रेनी सडकमा सैन्य गाडी


अंकुरण खबर
2.119K
Shares

रुस र युक्रेनको युद्धको चपेटामा परेका नेपालीको उद्धारको लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सक्रियता देखाएको छ ।

संघका उपाध्यक्ष डा. बद्री केसीका अनुसार संघले त्यहाँस्थित नेपाली समुदायसंग प्रत्यक्ष सम्पर्कमा एक अन्तरक्रियाको आयोजना गर्दै उनीहरुको अवस्था र उद्धारका सम्भवनाका बारेमा पहल शुरु गरेको हो ।

युक्रेनमा हाल ४०० जना नेपाली रहेको आकलन गरिएको छ । संघले पहिलो चरणमा नेपालीको तथ्यांक संकलन गर्ने र आपतकालमा परेका नेपालीहरुलाई तत्काल उद्धारको प्रयास गर्ने तयारी गरेको छ ।

नेपाली दूतावास जर्मनीको सहकार्यमा गैरआवासीय नेपाली संघको आयोजनामा शनिबार हुने अन्तरक्रिया कार्यक्रममा युक्रेनमा रहेका नेपालीहरु, जर्मनीको लागि नेपाली राजदूत रामकाजी खड्का,  गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्त लगायत एनआरएनएका पदाधिकारीहरु, तथा रुस र जर्मजीमा रहेका नेपाली दूतावासका प्रतिनिधिहरु सहभागी हुने छन् ।

केसीका अनुसार त्यहाँ अप्ठ्यारोमा परेका नेपालीहरुलाई पोल्याण्ड, हङगेरी, रोमेनिया, माल्डावा र सोलोभाकिया बोर्डरमार्फत तेस्रो देशमा पठाउने सम्भवनाको बारेमा संघले छलफल थालेको हो ।युरोपियन युनियनका कयौ मुलुकहरुले युक्रेनमा अप्ठ्यारोमा परेका मानिसहरुलाई आआफ्नो देशमा सेल्टर दिने तयारी गरेका छन् । यसैबीच चेक रिपब्लिकाले युक्रेनबाट आएका युद्ध पिडितको लागि विना कागजात आफ्नो देशमै बस्न दिने निर्णय गरेको छ ।

शनिवार नेपाली समय साँझ ७ बजे सुरु हुने कार्यक्रममा सहभागी हुन् संघका महासचिव डा. हेम राज शर्माले आग्रह गरेका छन् । उनले युक्रेनमा रहेका नेपालीहरुको सहयोग र उद्धारको लागि जुट्न सबै पक्षलाई आग्रह गरेका छन् ।

रुसी सेनासँग लड्न युक्रेनी सडकमा सैन्य गाडी, स्वयंसेवकलाई बन्दुक दिइयो

रुसी सेना राजधानी किभतर्फ अघि बढिरहँदा रुसी सेनाबाट सहरको रक्षा गर्न युक्रेनी सैन्य गाडीहरू किभमा परिचालन गरिएको छ । युक्रेनको आन्तरिक मामिला मन्त्रालयले यस्तो जनाएको बीबीसीले उल्लेख गरेको छ ।

किभका नगरप्रमुखले यसअघि नै सहर रक्षात्मक चरणमा प्रवेश गरिसकेको बताएका थिए ।

सरकारले रुसी फौजसँग प्रतिवादका लागि हतियार बोक्न तथा आफ्नो तर्फबाट सक्दो योगदान गर्न नागरिकहरूलाई आग्रह गरेको बिबीसीले उल्लेख गरेको छ ।

यसैबीच आन्तरिक मामिला मन्त्रालयले राजधानी सहरको रक्षाका लागि स्वयंसेवकहरूलाई १८ हजार थान मेसिनगन प्रदान गरेको जनाएको छ ।

रुसले बिहीबार बिहानबाट युक्रेनमा आक्रमण थालेको थियो ।