logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठ चोरी निकासी गर्दैगर्दा पक्राउ परेका व्यक्तिलाई वनका कर्मचारीले त्यसै छाडे


अंकुरण खबर
897
Shares

चोरी निकासी गर्दैगर्दा पक्राउ परेका व्यक्तिलाई प्रहरीले पक्राउ गरेर वन कार्यालमा बुझाए पनि वनका कर्मचारीले त्यसै छाडिदिएका छन् ।

प्रहरीले अवैध काठसहित पक्राउ गरी वन कार्यालयलाई बुझाएको थियो तर वन कार्यालयले अनुसन्धान नै नगरिकन छाडिदिएको छ ।

प्रहरीले उदयपुरको बेलका नगरपालिका–२ स्थित गिदेरी खोलाबाट काठसहित एक व्यक्तिलाई पक्राउ गरी सब डिभिजन वन कार्यालय तपेश्वरीमा बुझाएको थियो ।

इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाले सोमबार सप्तकोसी सामुदायिक वन समूहभित्र अवैध रुपमा रुख काटिएको बेला उनलाई पक्राउ गरेका थियो । प्रहरीका अनुसार बयलगाडीमा लोड गरेर लान तयार पारेको अवस्थामा सालको पाँच टुना काठ बरामद भएको थियो । काठसहित पक्राउ पर्नेमा बेलका नगरपालिका– २ शान्तिनगरका २८ वर्षीय दिपक रिखाम मगर, ३० वर्षीय विश्वनाथ चन्द्रवंशी, ६५ वर्षीय मानबहादुर मगर र ४५ वर्षीय महेन्द्रबहादुर राई थिए ।

उनीहरूलाई प्रहरीले बुझाएलगत्तै वन कार्यालयले छाडेकोे स्थानीयको भनाइ छ । उनीहरुका अनुसार सब डिभिजन वन कार्यालय तपेश्वरीका कर्मचारीहरू रकमको प्रलोभनमा परेर उनीहरूलाई सामुदायिक वनको जिम्मामा लगाएको हो । तर, सब डिभिजन वन कार्यालय तपेश्वरीका सहायक वन अधिकृत विनोदकुमार साहले सामुदायिक वनको विद्यानअनुसार बरामद काठ र मानिसहरू समुहलाईनै जिम्मा लगाएको बताए ।

सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष कुमार थापाले सब डिभिजनबाट बुझि लिएकाहरूलाई समूहको निर्णयअनुसार जरिवाना गरेर छोडेको बताए ।