काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले ऐतिहासिक तथा पुरातात्विक महत्वका सम्पदाहरुको संरक्षण र संवद्र्धन गर्नु सरकारको प्रमुख दायित्व भएको बताएका छन् ।
शुक्रबार काठमाडौंको भोटाहिटीस्थित अन्नपूर्ण मन्दिरको आँगन घर पुनर्निर्माण कार्यको शिलान्याश गर्दै मेयर शाक्यले यस्तो बताएका हुन् । कुनै पनि सम्पदाहरुको संरक्षण प्रवद्र्धन गर्न संघ,प्रदेश,स्थानीय सरकार र सरोकारवालाहरु सबैको भूमिका हुने उनको भनाई थियो । यद्यपी काठमाडौं महानगर भित्रका यस्ता सम्पदाहरुको संरक्षणमा संघ र प्रदेश सरकारबाट आवश्यक पहल नभएको मियर शाक्यले गुनासो गरे ।
धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदाले भरिएको काठमाडौंमा महानगरपालिकाले सबै सम्पदाहरुको अधुनिक पन दिँदै पुनःर्निर्माण, संरक्षण र संवद्र्धन गर्न कुनै कसुर बाँकी नराखेको मेयर शाक्यले बताए ।
उनले महानगरपालिकाले सम्पदाहरुको पुनर्निर्माणमा आर्थिक सहयोग गर्ने तर त्यसको संरक्षण र व्यवस्थापनको जिम्मा भने स्थानीय गुठीहरुलाई नै दिने नीति अनुसार काम भईरहेको जनाएका छन् ।
२ वर्षभित्र पुनर्निर्माणको काम सम्पन्न हुने गरी अघि बढाइएको सो आँगन घर पुनर्निर्माणका लागि करिब साँढे १ करोड बजेट लाग्ने अनुमान छ । जसमा काठमाडौं महानगरपालिकाले ७६ लाख ११ हजार आर्थिक सहयोग गरेको छ ।