युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग टेलिफोन वार्ता गरेका छन् ।
बाइडेनसँगको वार्तामा सुरक्षा, युक्रेनलाई आर्थिक सहयोग र रुसमाथि प्रतिबन्ध लगाउने विषयमा छलफल भएको राष्ट्रपति जेलेन्स्कीले एउटा ट्विटमा उल्लेख गरेका छन् ।
जेलेन्स्कीले इजरायलका प्रधानमन्त्री नाफतली बेन्नेटसँग पनि टेलिफोन वार्ता गरेका छन् । जेलेन्स्कीसँग छलफल गर्नुअघि बेन्नेटले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई मस्कोमा भेट गरेका थिए ।
इजरायल अमेरिकाको प्रमुख साझेदार भए पनि प्रधानमन्त्री बेन्नेटले रुससँगको सम्बन्धलाई पनि मझबुत बनाउन खोजेका छन् । जेलेन्स्कीको अनुरोधमा इजरायल रुस र युक्रेनबीच मध्यस्थता गर्न इच्छुक देखिएको छ ।
युद्धबिराम गरेको भनिएको क्षेत्रमा पनि गोलाबारी र बम हमला
तर यता रुसी सेनाले घेराबन्दी गरेको युक्रेनी सहर मारिओपोलमा तीव्र गोलाबारी भएको विवरणहरु सार्वजनिक भएका छन् । यसअघि मानवीय सहायताका लागि भन्दै रुसी सेनाले सो सहरमा अस्थायी युद्धबिराम घोषणा गरेको थियो ।
रुसी सेनाको गोलाबारीका कारण सर्बसाधारणलाई मारिओपोलबाट बाहिर लैजाने कार्य स्थगित गरिएको युक्रेनी अधिकारीहरुले बताएका छन् ।
रुसी सेनाले बमबारी र गोलाबारी तीव्र पारेको मारिओपोलका मेयर भदयाम बोयचेन्कोले बताएका छन् ।
‘आवासीय ब्लकहरुमा निरन्तर गोलाबारी जारी छ । आवासीय क्षेत्रमा विमानले बमहरु खसालि रहेका छन् ’ उनको भनाई उदृत गर्र्द एपी समाचार संस्थाले जनाएको छ ।