logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

८ मार्च : परिवारलाई समस्या पर्ने त्रासले हिंसा सहेर बस्न बाध्य


अंकुरण खबर
416
Shares

राजविराज नगरपालिका-१ कि ५० वर्षीया महिला बोक्सीको आरोपमा पटक-पटक प्रताडित छिन् ।

समाजको डरले उनी उजुरी गर्न गएकी छैनन् । उनका अनुसार आफन्त र छिमेकीको घरमा कोही बिरामी भएमा बोक्सीको आरोप लाग्छ । तीन छोरी र एक छोराको विवाह गर्ने बेलामा उजुरी गर्न गएमा घरपरिवार नै समस्यामा पर्ने उनमा पीर छ ।

अग्निसाइर कृष्णासवरण गाउँपालिका- २ कि २७ वर्षीया पूजाकुमारी चौधरीलाई बोक्सीको आरोप लगाएर गाउँलेले कुटपिट गरेपछि गत २० माघमा इलाका प्रहरी कार्यालयमा उजुरी दिएकी छन् । आरोपित फरार छन्। पूजा भन्छिन्,’गाउँमा कोही बालबालिका बिरामी भयो कि मलाई बोक्सीको आरोप लगाउँछन् । कुटपिट पनि हुन थालेपछि कानुनी उपचारमा गएकी हुँ ।’

राजविराज नगरपालिका-५ कि ६० वर्षीया दुखनीलाई जेठाजुका छोराले बोक्सीको आरोप लगाएर छिमेकीको उपस्थितिमा दिसापिसाब खुवाउन तम्सिए । प्रहरीले उनलाई जोगाए । भन्छिन्, ‘नयाँ जिन्दगी पाएकी छु ।’ दुखनीका जेठाजुकी गर्भवती बुहारीको मृत्यु भएपछि भतिजले उनीमाथि बोक्सी आरोप लगाएका थिए ।

दुखनी मात्र होइन उनकी बुहारीलाई पनि बोक्सी आरोप लगाइयो । ‘त्यो घटनाले मानसिक पीडा भयो । दुई वर्षसम्म समस्या भयो,’ उनी भन्छिन् ।

अहिले उनको जीवन सामान्य छ । सानोतिनो व्यापार पनि गरिरहेकी छन् । अधिकारकर्मी अनिता देवकोटा सासुबुहारीलाई बोक्सीको आरोप लगाई दिसापिसाब खुवाउन लागेको जानकारी पाएर प्रहरीको सहयोगमा उद्धार गरिएको बताउँछिन् ।

जिल्ला प्रहरी कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०७६/०७७ मा ६, ०७७/०७८ मा दुई र चालू आर्थिक वर्षमा ६ जना पीडितको उजुरी परेको छ ।

सप्तरी प्रहरीका प्रवक्ता माधवप्रसाद काफ्लेले बोक्सीको आरोपमा पीडित भएको उजुरी कम आउने गरेको बताए ।