logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

साँफेबगरमा दुई हजार ३८२ घरपरिवारलाई गरिब परिचयपत्र वितरण


अंकुरण खबर
806
Shares

साँफेबगर नगरपालिकाले एक हजार २८३ घरधुरीका दुई हजार ३८२ घरपरिवारलाई गरिब परिचयपत्र वितरण गरेको छ ।

नगरका १४ वटै वडाका दुई हजार ३८२ घरपरिवारलाई गरिब परिचयपत्र वितरण गरेको नगर प्रमुख कुलबहादुर कुँवरले जानकारी दिए ।

उनका अनुसार अति गरिब (रातो कार्ड) ५८३, गरिब (पहेंलो कार्ड) ४३८ र सामान्य गरिब (निलो कार्ड) २६२ गरी एक हजार २८३ घरधुरीका दुई हजार ३८२ परिवारलाई गरिब परिचयपत्र वितरण गरिएको हो ।

नगरमा सबैभन्दा वढी साँफेबगर नगरपालिका–१४ पातलकोटमा २०० गरिब घरधुरी र सबैभन्दा कम वडा नम्बर १ वैजनाथ र वडा नम्बर ६ भाग्यश्वरमा २५ गरिब घरधुरी रहेका छन् ।

नगरपालिकाबाट प्रवाह गरिने विभिन्न सेवा सुविधाहरुमा गरिबीको सूचीमा परिवारहरुलाई पहिलो प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गरिने प्रमुख कुँवरले जानकारी दिए । उनले गरिबीको सूचीमा रहेका परिवार भित्रका जेहेन्दार विद्यार्थीलाई लक्षित गरी जेहेन्दार छात्रवृत्ति उपलब्ध गराइने पनि बताए ।

सरकारले २०६८ सालमै २५ जिल्लामा गरिब घरपरिवारको विवरण संकलन सुरु गरेको थियो । परिचयपत्र पाएकाहरुले सरकारबाट पाउने सुविधा के हुने भन्ने सरकारी अधिकारीलाई नै जानकारी छैन । उनीहरुलाई राज्यले शिक्षा, स्वास्थ्य, आवास, खाद्यन्न, लगायतका विभिन्न सेवा सुविधामा सहुलियत र अनुदान दिने योजना त छ । तर, अहिले सम्म कस्ता सहुलियत दिने भनेर टुंगो लगाइएको छैन ।