एमाले अध्यक्ष केपी ओलीले संविधासभाबाट जारी भएको संविधानले प्रेस स्वतन्त्रालाई पूर्ण रूपमा स्वीकारेको बताएका छन् ।
पोखरामा शुक्रबार प्रेस चौतारी नेपालको नवौं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले संविधानसभाबाट जारी भएको संविधानले प्रेस स्वतन्त्रता मात्र होइन, मानव अधिकारलाई पनि व्यवस्थित गरेको बताए ।
‘प्रेस स्वतन्त्रता होइन, अहिले सामाजिक सञ्जालको व्यापक प्रयोगसँगै अनियन्त्रित स्वतन्त्रताको अवस्थामा पुगेका छौँ,’ उनले भने, ‘पीत पत्रकारिता अहिलेको आवश्यकता होइन ।’
अधिकारसँगै आफ्नो कर्तव्यप्रति सजग रहनुपर्नेमा जोड दिएका ओलीले देशलाई अगाडि बढाउन, न्याय र सत्यका लागि प्रेस प्रतिबद्ध रहनुपर्ने बताए ।
उनले सामाजिक सञ्जाल प्रयोग गर्दा आफू र अरुको समय बर्बाद बनाउन खालको हुन नहुने बताएका छन् । बरु सूचना दिने खालको हुनुपर्ने उनको भनाइ छ ।
‘हामी ट्विटर, फेसबुक, युट्युव, टिकटकजस्ता सामाजिक सञ्जाल प्रयोग गर्दा आफू र अरुको समय बर्बाद बनाउनु हुँदैन,’ उनले भने, ‘बरु सूचना, ज्ञान दिने खालको हुनुपर्छ ।’