logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

दार्चुला घटनाबारे जनतालाई सरकारले जवाफ दिनुपर्छ : भीम रावल 


अंकुरण खबर
1.742K
Shares

नेकपा एमालेका नेता भीम रावलले दार्चुला घटनाका बारेमा जनतालाई जवाफ दिन सरकारसँग माग गरेका छन् ।

प्रतिनिधि सभामा बोल्दै नेता रावलले भारतले एकतर्फी रुपमा तटबन्ध निर्माण गरिरहँदा पनि नेपाल सरकारले केही नबोलेको भन्दै ध्यानाकर्षण गराएका हुन् ।

दार्चुलाका स्थानीयले त्यो काम तत्काल बन्द हुनुपर्छ भनेर आवाज उठाउँदा पनि नेपाल सरकारको तर्फबाट कुनैपनि पाइला नचालिएको देखिएको रावलले बताए । ‘त्यहाँका जनताले आफ्नो भौगोलिक अखण्डताका लागि महाकाली नदीलाई नेपालतिर फर्काउँदै गरेको भारतीय गाडीहरुलाई ढुंगाले हानेर रोक्नुपर्यो भन्दा एउटा सार्वभौमसम्पन्न देशको नागरिक भएर हामीलाई हाम्रो सरकारप्रति लज्जावोध गर्नुपर्ने स्थिती उत्पन्न हुन्छ,’ उनले भने।

भारतले यसअघि पनि गलफाईमा एकतर्फी ढंगले तटबन्ध निर्माण गरेको र व्यापक विरोध भएपछि मात्रै रोकिएको बताए । दशगजा क्षेत्रका नेपालीले आफ्नो जमिनमा काँडेतार र पर्खाल लगाउन खोज्दा मारिनुपरको घटनाको स्मरण गर्दै रावलले दार्चुला घटनाबारे सरकारले तत्काल आफ्नो कुरा राख्नुपर्ने बताएका हुन् ।

‘भारतले एकतर्फी रुपमा डोजर चलाएर नेपालको सिमानातर्फ महाकालीलाइ चेप्ने र आउने बर्खामा फेरि खलंगालाई खतरामा पार्ने काम हुँदैछ । नेपाल सरकारको तर्फबाट गृहमन्त्री, परराष्ट्रमन्त्रीले सदनमा आएर नेपाली जनतालाई जवाफ दिनुपर्छ,’ उनले भने ।

रावलले राष्ट्रको भौगोलिक अखण्डता सार्वभौमसत्ता, र नेपाली जनताको स्वाभिमान र स्वतन्त्रतामाथि आँच आउने कुरामा ध्यान नदिने सरकार जनविरोधी र अलोकतान्त्रिक ठहर हुने बताए ।