नेकपा (एमाले) ले कारबाही गरेका माधवकुमार नेपालसहित १४ सांसद र नेकपा एकीकृत समाजवादी पार्टीविरुद्ध परेको रिट सर्वोच्च अदालतले पूर्ण इजलासमा पठाएको छ ।
आइतबार सुनुवाइका लागि पेसी तोकिएपछि भएको सुनुवाइमा न्यायाधीश ईश्वरप्रसाद खतिवडा र कुमार चुँडालको इजलासले यसलाई टुंग्याउन पूर्ण इजलासमा पठाउने निर्णय गरेको हो ।
अब यी रिटमा अन्तिम सुनुवाइ हुनेछ । उक्त सुनुवाइ सकिएपछि फैसला आउने छ । यसअघि पनि सर्वोच्चले उक्त मुद्दामा पटकपटक पेशी तोक्दै आएपनि रिटमा सुनुवाइ हुन सकेको थिएन ।
माधव नेपालले एमाले बाट छुट्टिएर नेकपा (एकीकृत समाजवादी) दर्ता गरेका थिए । यस क्रममा एमालेले माधव नेपालसँगै गएका १४ जनालाई कारबाही माग गर्दै सर्वोच्चमा रिट हालेको थियो । एमाले अध्यक्ष केपी ओलीले निर्वाचन आयोग र सभामुखलगायतलाई विपक्षी बनाएर गत १७ भदौमा सर्वोच्चमा रिट निवेदन दायर गरेका थिए ।
आफ्ना कारबाही गरिएका १४ सांसदको पद निलम्बन गर्नुपर्ने एमालेको माग छ । तर समाजवादीका सांसद कायम गरिदिएको भन्दै सभामुख अग्नि सापकोटा र पार्टीले कारबाही सिफारिस गरेका दुई लुम्बिनी प्रदेश सांसदलाई प्रदेश सभामुखले निलम्बन नगरेको भन्दै एमालेले सर्वोच्मा रिट हालेको थियो ।