logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

रुस-युक्रेन युद्ध: के इन्टरनेट सञ्जालबाट रुस छुट्टिन लागेको हो


अंकुरण खबर
1.183K
Shares

युक्रेनमा द्वन्द्वले उग्र रूप लिइरहेका बेला अहिले भौतिक तथा डिजिटल विश्व अभूतपूर्व अवस्थामा छन्।

मेटा, गुगल र एपलजस्ता व्यावसायिक जगत्‌का ठूला कम्पनीले आफूलाई सधैँ तटस्थ संस्थाका रूपमा चिनाउने गरेका थिए। तर अहिले उनीहरूले आफ्नो राजनीतिक विचारधारा स्पष्ट पारेका छन्।

उनीहरूले युक्रेनमा आक्रमण गरेको प्रतिक्रियास्वरूप रुसमा आफ्ना सेवा र उत्पादनहरू बन्द गरेका छन्।

रुसी प्रयोगकर्ताका लागि इन्टरनेटको स्वरूप आफैँ परिवर्तन भइरहेको छ। ट्विटर र फेसबुक अवरुद्ध छन् भने टिकटकले रुसी प्रयोगकर्तालाई कुनै सामग्री पोस्ट गर्न दिएको छैन।

प्रहरीले हिँडिरहेका मान्छेलाई बाटोमा रोकेर फोनमा उनीहरूले के हेरिरहेका छन् त्यसको चियोचर्चो गर्न खोजेको बताइएको छ।

अहिलेको यो द्वन्द्वले केवल विश्वको भूगोल परिवर्तन गर्ने मात्र होइन आधारभूत रूपमा विश्वव्यापी इन्टरनेटको प्रकृति पनि फेरिदिने हो कि भन्ने प्रश्न उठेको छ।

के रुसलाई इन्टरनेटबाट अलग्ग्याउनुपर्छ ?

इन्टरनेट

युक्रेन सरकारले प्रविधि कम्पनीहरूलाई रुसमा सेवा बन्द गर्न आग्रह गरेको छ। तर त्यसो गर्न नमान्ने कम्पनीको सूची दिनदिनै बढिरहेको छ।

अहिले राम्रोसँग प्रविधि प्रयोग गर्न सिपालु युक्रेनी नेताहरूले यतिखेर अझ ठूलो माग गरिरहेका छन् – विश्वव्यापी इन्टरनेटबाट रुसलाई पूरै विच्छेद गरिदिने।

त्यस्तो आग्रहलाई इन्टरनेटसम्बन्धी व्यवस्था गर्ने निकाय इन्टरन्याश्नल कर्पोरेशन फर असाइन्ड नेम्ज एन्ड नम्बर्ज (आईक्यान) ले स्पष्ट शब्दमा अस्वीकार गरिसकेको छ।

रुसको मुख्य डोमेन डट आरयू (.ru) र रुसको सिक्यूर सकेट्स लेयर (एसएसएल) प्रमाणपत्रलाई रद्द गर्ने माग उससँग गरिएको थियो।

तर आईक्यानको नारा छः “एक विश्व, एक इन्टरनेट।”

के इन्टरने‍ट बन्द गर्न सकिन्छ ?

युक्रेनका उपप्रधानमन्त्री मीखाइलो फेदोरोभलाई जबाफ दिने क्रममा आईक्यानका प्रमुख कार्यकारी गोरन मर्बीले भने, “हामी आफ्नो अभियानभित्र तटस्थता कायम गर्दै र विश्वव्यापी इन्टरनेटलाई सघाउनेगरी काम गर्छौँ। निहुँहरू भए पनि हाम्रो अभियानमा दण्ड दिने, प्रतिबन्ध जारी गर्ने वा इन्टरनेमा केही भागमा सीमित पहुँच पारिदिने काममा पर्दैन।”

डिजिटल गोपनीयताको क्षेत्रमा काम गर्ने इलेक्ट्रनिक फ्रन्टीअर फाउन्डेशन (ईएफएफ) त्यस्तो निर्णयलाई समर्थन गर्नेमध्येको संस्था हो।

एउटा विज्ञप्तिमा ईएफएफले युद्धको समय ‘इन्टरनेट अस्तव्यस्त पार्ने’ बेला नभएको बताएको छ।

उसले आधारभूत इन्टरनेट पूर्वाधारका नियमहरूमा हस्तक्षेप गर्दा “भयानक र दीर्घकालीन परिणाम” आउन सक्ने चेतावनी दिएको छ। त्यस्ता परिणाममा यस्ता कुरा पर्छन् –

एउटा ब्लगमा उक्त कम्पनीले ती अनुरोधहरूबारे आफूले विचार गरे पनि “रुसलाई कम होइन धेरै इन्टरनेट पहुँच चाहिने” निष्कर्ष निकालेको जनाएको छ।

स्प्लिन्टरनेट के हो र यसले कसरी काम गर्छ ?

इन्टरनेट

धेरै मानिसलाई इन्टरनेट काट्न गरिएका आग्रहहरू “स्प्लिन्टरनेट” तिर उन्मुख एउटा डरलाग्दो बाटो हो भन्ने लाग्छ। स्प्लिन्टरनेटमा विभिन्न देशमा इन्टरनेटको आआफ्नै स्वरूप हुन्छ।

एउटा देशले कसरी आफ्नै वेब बनाउन सक्छ भन्ने कुराको एउटा ज्वलन्त उदाहारण “द ग्रेट फायरवाल अफ चाइना” हो।

इरानमा पनि इन्टरनेटमा परिस्कृत सामग्री मात्र उपलब्ध हुन्छ र बाह्य सूचनालाई त्यहाँ राज्यनियन्त्रित दूरसञ्चार कम्पनीले सीमित पारिदिन्छ।

रुस स्वयंले आफ्नै सार्भभौम इन्टरनेट “रुनेट”को कैयौँ वर्षदेखि परीक्षण गरिरहेको छ।

सन् २०१९ मा रुस सरकारले त्यसलाई सफलतापूर्वक परीक्षण गरेको जनाएको छ।

यूनिभर्सिटी अफ सरीमा कार्यरत कम्प्युटर वैज्ञानिक तथा प्राध्यापक एलन वूडवर्डका अनुसार त्यस बेला कमैले त्यसको आवश्यकता महसुस गरेको भए पनि अहिले युक्रेन आक्रमणको सन्दर्भमा त्यसको अर्थ बुझिएको छ।

त्यस परीक्षणमा रुसी इन्टरनेट सेवाप्रदायक (आईएसपी) हरूलाई वेबसाइटहरूको एउटा निजी सञ्जाललाई बाह्य संसारसँग नजोडीकन आफ्नै सीमाभित्र प्रभावकारी ढङ्गले चल्ने बनाउन निर्देशन दिइएको थियो।

साइबर अपराध: र्‍यान्समवेअर भनेको के हो ?

त्यस अभ्यासमा रुसी इन्टरनेटलाई विश्वव्यापी जोड्ने बिन्दुमा अवरोध गर्ने काम समाविष्ट थियो।

अहिले रुसले ती प्रणालीलाई पुर्नपरीक्षण गरिरहे जस्तो देखिन्छ।

केही सरकारी पत्रमा त्यस्तो काम सम्पन्न गर्ने समय मार्च ११ देखिनुको अर्थ रुसले छिट्टै आफूलाई इन्टरनेटको विश्वव्यापी सञ्जालबाट छुटाउने मनसाय राखेको देखिन्छ।

तर रुसले त्यस बेलादेखि नै त्यस्तो कुरा अस्वीकार गर्दै आएको छ।

उसले त्यसलाई विदेशी साइबर आक्रमणबाट रुसी वेबसाइटलाई बचाउन गरिएको परीक्षण भन्ने गरेको छ।

तर द ग्रेट फायरवाल अफ चाइनाका लेखक जेम्स ग्रिफिट्स इन्टरनेट सम्पर्क जुनसुकै बेला पनि भङ्ग गराइन सक्ने ठान्छन्।

उनी भन्छन्, “इन्टरनेट काट्नुको अर्थ क्रेम्लिनले स्वीकृत गरेका सामग्री मात्र रुसीहरूले उपभोग गर्न पाउनु हो, त्यस्तो कामले हामी कता गइरहेका छौँ भन्ने राम्ररी बुझाउँछ।”

“आगामी साता वा महिनाहरूमा त्यसो भएमा म अचम्भीत हुनेछैन।”

त्यसको परिणाम कस्तो हुनेछ?

इन्टरनेट

‘हाऊ टेक्नोलजी इज रिमेकिङ ग्लोबलाइजेशन’ पुस्तकका लेखक अबिशुर प्रकाश अहिलेको द्वन्द्वले इन्टरनेटलाई नयाँ स्वरूप दिइरहेको मान्यता राख्छन्।

उनले “पूरै विश्व जोडिएको एउटा विश्वव्यापी प्रणालीबाट” त्यो थप विभाजित बनिरहेको बताउँछन्।

“भूराजनीतिले गर्दा इन्टरनेटका लागि भिन्न स्वरूप विकसित भइरहेको छ जहाँ देशहरूलाई कि विच्छेद गरिएको छ वा तिनले आफ्नै विकल्प बनाइरहेका छन्।”

जेम्स ग्रिफिट्सका अनुसार इन्टरनेट शक्तिको नयाँ ध्रुव पश्चिमी विश्व र चीन-रुसबीच विभाजित हुन्छ।

उनी भन्छन्, “चीनको ग्रेट फायरवालका संस्थापकका रूपमा चिनिने लीउ वेईले सन् २०१६ मा रुसको भ्रमण गरेका थिए। उनी त्यहाँ चिनियाँ फायरवालजस्तै रुसी फायरवाल निर्माणको काम हेर्न र त्यसमा सगाउन त्यहाँ गएका थिए।”

इन्टरनेट कम्पनीहरूले आफ्ना सेवाहरू रोकिरहँदा रुसले फेरि एक पटक बेइजिङको सहयोग खोज्नेछ। “रुसी अर्थतन्त्र धेरै विश्वव्यापी अर्थतन्त्रबाट विच्छेद भएको अवस्थामा उनीहरू चीनको साथ खोजिरहेका छन्। उनीहरू विगतमा भन्दा धेरै चीनतर्फ निर्भर हुनुपर्नेछ।”

अहिलेसम्म ह्वावेईजस्ता प्रविधि कम्पनीले यस द्वन्द्वबारे औपचारिक रूपमा केही बोलेका छैनन्। बीबीसीको सहयोगमा