logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

‘न्यू इअर विथ न्यू एअरपोर्ट’ गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, व्यावसायिक उडानका लागि जजिरा एयरवेजको प्रस्ताव


अंकुरण खबर
1.17K
Shares

गौतमबुद्ध विमानस्थलको व्यावसायिक उडानका लागि कुवेतको जजिरा एयरलाइन्सले प्रस्ताव पठाएसँगै अन्य देशको पनि चासो बढेको छ ।

भैरहवास्थित गौतमबुद्ध विमानस्थलको एरोनटिकल पब्लिकेसन इन्फर्मेसन (एआइपी) बिहीबार प्राधिकरणले सार्वजनिक गरेको थियो ।

एआइपी भनेको विमान अन्तर्राष्ट्रिय उडानका लागि योग्य छ भनी जारी गरिएको सूचना हो । बुद्ध पूर्णिमादेखि व्यावसायिक उडानको तयारीमा रहेको विमानस्थलका लागि प्राधिकरणले वेबसाइटमार्फत सूचना जारी गरेपछि कुवेतको जजिरा एयरवेजले कुवेत–भैरहवा–कुवेत नियमित उडानका लागि प्रस्ताव निवेदन पठाएको हो ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दहालले अन्तर्राष्ट्रिय उडान भर्नग जजिरा एयरवेजले  नागरिक उडड्यन प्राधिकरणलाई इमेलमार्फत प्रस्ताव पठाएको बताए । अन्य देशका एयरलाइन्स ओबान, थाइल्यान्ड, हिमालयनलगायतले उडानका लागि चासो राखे पनि एआइपी जारी भएपछि पहिलो एयरलाइन्सको रूपमा जजिराले औपचारिक प्रस्ताव पठाएको हो । यान्त्रिक परीक्षण उडानपछि एरो थाईले प्रतिवेदन बुझाएको थियो । प्रतिवेदन पाएको १० दिनपछि प्राधिकरणले एआइपी सार्वजनिक गरेको थियो  ।

‘न्यू इअर विथ न्यू एअरपोर्ट’ अनुसार आगामी १ वैशाखदेखि नेपालकै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको रूपमा गौतमबुद्ध विमानस्थलमा परीक्षण उडान गर्ने तयारी छ । विमानस्थलले अबको केही दिनमै नागरिक उड्डयन संगठन (आइकाओ)को सर्टिफिकेटसमेत पाउने अपेक्षाअनुसार अन्तर्राष्ट्रिय उडानको तयारी सुरु भएको छ ।

विमानस्थल सञ्चालन तथा व्यवस्थापनका छलफल भइरहेको र प्राधिकरणबाटै कर्मचारीहरू समेत व्यवस्थापन भइरहेको छ । विमानस्थल सञ्चालन नागरिक उड्डयन प्राधिकरणले, ग्राउन्ड ह्यान्डलिङ नेपाल वायुसेवा निगमले, फ्लाइट क्याटरिङको सेवा सोल्टी क्राउनले र  कार्गो व्यवस्थापनको काम नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडले गर्ने गरी तयारी रहेको महाप्रबन्धक दाहालले भने ।

अन्तर्राष्ट्रिय उडानको तयारीअनुसार विमानस्थल कार्यालयले भन्सार विभाग, अध्यागमन विभाग तथा सुरक्षा निकायलगायतसँगको छलफलपछि २ जेठमा अन्तर्राष्ट्रिय उडान खोल्ने तयारीअनुसार १५ दिन पहिल्यै उडान सेवा दिन तयारी अवस्थामा रहन पत्र काटिसकिएको विमानस्थलका महाप्रबन्धक दाहालले बताए । १ वैशाखमा परीक्षण उडानका तयारी भइरहेकोमा १५ वैशाखसम्म अन्तर्राष्ट्रिय उडानका लागि सबै तयारी पूरा हुने दाहालले बताए ।

कुवेतका लागि जजिराले कठमाडौंबाट दैनिक उडान भर्दै आएको छ । जजिराले कुवेतबाट भैरहवा र भैरहवाबाट कुवेत दैनिक उडानका लागि निवेदन दिएको छ । २ जेठमा बुद्ध जयन्तीको अवसर पारेर जजिरा एयरलाइन्सले नियमित उडान सुरु गर्ने प्रस्तावमा उल्लेख छ ।
एआइपी जारी गरेपछि सुझाव लिन ४५ दिनसम्मको समय रहन्छ । यो समयमा त्रुटि सच्याउने, जानकारी थप्नेलगायतको काम गर्न सकिन्छ ।

प्राधिकरणले यसैलाई समेटेर अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) लाई पठाउनुपर्छ । आइकाओ संयुक्त राष्ट्रसंघ मातहतको विशेष निकायहो यसले विश्वभरको हवाई सेवा विकास र व्यवस्थापन गर्ने गर्छ । नेपाल पनि आइकाओको सदस्य हो, नेपालको अनुरोधअनुसार आइकाओले विश्वभरका वायुसेवालाई नयाँ विमानस्थल थपिएको जानकारी दिन्छ यो अनिवार्य प्रक्रिया हो । त्यसपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुन नसकेका विमान भैरहवामा आकस्मिक अवतरण गर्न बाटो खुला हुन्छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज अवतरण हुन नसकेको जहाज भारत र बंगलादेश डाइभर्ट भएर जाने बाध्यता छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि विकल्पको रूपमा हुनेछ । कुनै कारणवश त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज अवतरण हुन नसकेमा यहाँ डाइभर्ट गरिन्छ । भैरहवा विमानस्थलमा ६ किलोमिटर भिजिबिलिटी भए पनि उडान अवतरण हुन्छ, त्यस्तै तीन किलोमिटर रनवेका कारण पनि अब जहाज नेपालबाहिर डाइभर्ट हुनुपर्ने अवस्था अन्त्य हुनेछ ।

Avatar