logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नर्भिक नर्सिङ कलेजका ९० प्रतिशत विद्यार्थीले निकाले विशिष्ट श्रेणीको नतिजा


अंकुरण खबर
897
Shares

नर्भिक इन्टरनेशनल हस्पिटलको भगिनी संस्था नर्भिक इन्स्टिच्यूट अफ नर्सिङ एजूकेसनले दक्ष जनशक्ति उत्पादनमा समेत राम्रो नतिजा प्रदर्शन गर्दै आएको छ ।

यो क्रममा सन् २०१७ को बिएसी नर्सिङको ब्याचले ऐतिहासिक र उत्साहजनक सफलता हासिल गरेको छ ।

नवौं ब्याचको रुपमा ३० जना विद्यार्थीले निकै राम्रो नतिजासहित बिएससी नर्सिङको कोर्स पूरा गरेका हुन् । विज्ञान विषय लिएर प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरेका विद्यार्थीहरुले यो कोर्स पढ्न पाउँछन् ।

नर्भिक इन्स्टिच्यूट अफ नर्सिङ एजूकेसन नवौं ब्याचका ३० मध्ये २७ विद्यार्थीले विशिष्ट श्रेणी तथा बाँकी ३ जनाले पहिलो श्रेणीको अंकसहित ऐतिहासिक सफलता हात पारेका हुन् । यो ब्याचमा समावेश कुल विद्यार्थीमध्ये ९० प्रतिशतले विशिष्ट श्रेणीसहित उत्तीर्ण हुनु उत्साहको विषय रहेको नर्भिक इन्स्टिच्यूट अफ नर्सिङ एजूकेसनका प्रमुख कार्यकारी अधिकृत कुलानन्द(केएन) शर्माले जानकारी दिए ।

‘कोभिड पेण्डामिकको बेलाका चुनौतिका बाबजुद पनि हाम्रा विद्यार्थीहरुले गरेको मेहेनतको नतिजा उत्साहपूर्ण आउँदा हामी खुशी छौं ।’ उनले भने–‘कुल विद्यार्थीमध्ये ९० प्रतिशतले विशिष्ट श्रेणीमा कोर्स उत्तीर्ण गरेर हाम्रा मेहेनती विद्यार्थीहरुले रेकर्ड बनाएका छन् ।’

नर्भिक इन्स्टिच्यूट अफ नर्सिङ एजूकेसनमा विगत लामो समयदेखि बिएससी नर्सिङ, बिएन नर्सिङ र पिसीएल नर्सिङका कोर्सहरु संचालन हुँदै आएका छन् । बिएससी नर्सिङ र बिएन नर्सिङको कोर्स पूर्वाञ्चल विश्वविद्यालयबाट मान्यताप्राप्त हुन् भने प्रवीणता प्रमाणपत्र तह (पीसीएल) नर्सिङ चाहि सिटीइभिटीबाट मान्यताप्राप्त कोर्स हो ।