म्यादी प्रहरी भर्ना खुलेको तीन दिनमै जुम्लामा १२ सय जनाको आवेदन परेको छ ।
स्थानीय तह निर्वाचन लागि ६ देखि ११ चैतसम्मका लागि खुलेको भर्ना प्रक्रियामा सहभागी हुन उनीहरूले आवेदन दिएका हुन् ।
आवेदन दिन आउनेको संख्या दिनहुँ बढीरहेको छ । प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी युवन चौधरी भन्छन्, ‘जुम्लाका लागि सात सय ६८ जना म्यादी प्रहरी भर्ना गर्नुपर्ने हो । तर, यहाँ भर्नाको आह्वान गरेको तेस्रो दिनमा १२ सयको दरखास्त परिसक्यो ।’
प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दका अनुसार १८ वर्षभन्दा माथि र ५४ वर्ष भन्दा तलाका सबै नागरिकले दरखास्त दिन सक्नेछन्। उनले भने, ‘पूर्वनेपाली सेना, प्रहरी तथा विगतमा पनि म्यादी प्रहरीको अनुभव बटुलेकालाई केही प्रथामिकता दिइनेछ ।’
म्याद ४० दिन मात्रै
आगामी निर्वाचनलाई लक्षित गरी भर्ना भएका म्यादी प्रहरीको कार्यअवधि ४० दिनको हुनेछ । त्यसका लागि मासिक ३० हजार दुई सय ४० रुपैयाँ पारिश्रमिक निर्धारण गरिएको छ ।
प्रत्येक म्यादी प्रहरीले खाद्यान्न बापत सात हजार दुई सय ,पोसाक र अन्य खर्च गर्नेगरी ६ हजार रुपैयाँ, यातायात खर्चबापत एक हजार रुपैयाँ र बिमा सुविधा समेत उपलब्ध रहेको प्रहरी निरीक्षक युवन चौधरीले बताए । उनले म्यादी प्रहरीको लागी १३ चैतमा सम्पर्क मिति रहेको छ । यस्तै १५ देखि २२ चैतसम्म छनोट प्रक्रिया हुनेछ । २८ चैतभित्र उनीहरूको नतिजा आउन थाल्छ ।
प्रहरी निरीक्षक युवन चौधरीका अनुसार म्यादी प्रहरीको लागि जुम्लामा ५३ वर्षसम्मका पुरुष र ३५ वर्षसम्मका महिलाले दरखास्त दिएका छन् । उनले भने, ‘११ चैतसम्म दरखास्त दिने मिति भएकाले करिब दुई हजारको हाराहारीमा दरखास्त पर्न सक्ने अनुमान छ ।’
कोरोना महामारीका कारण जुम्लामा बेरोजगारी दर बढेको छ । गाउँमा रोजगारीका कुनै अवसर नभएपछि म्यादी प्रहरीको लागि निवेदन दिएको चन्दननाथ नगरपालिका-८ की दुर्गा थापाले बताइन । उनले भनिन्, ‘घर खर्च चलाउन म्यादी प्रहरी हुन आएकी हुँ ।’