logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अधिग्रहणको पाँच वर्षपछि महोत्तरीमा रेल्वे मुआब्जा वितरण सुरू


अंकुरण खबर
858
Shares

ब्रोडजेग रेल्वेको पूर्वधार निर्माण आयोजनाले जग्गा अधिग्रहण गरेको पाँच बर्षपछि महोत्तरीका रेल्वे मुआब्जा पीडितहरूले मुआब्जाबापतको रकम पाउने भएका छन् ।

अधिग्रहण गरेको जग्गालाई विभिन्न ३५ शीर्षकमा विभाजन गरी पाँच दिनअघि मात्रै न्युनतम सात लाखदेखि ८१ लाखसम्म मुआब्जा दिने निर्णय भएको थियो ।

सोही निर्णयअनुसार निर्धारण गरेको शीर्षकअनुसार मुआब्जा बितरण प्रक्रिया अन्तिम चरणमा पुगेको प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले जानकारी दिए ।

वितरण प्रक्रियालाई चुस्त बनाउन रेल्वेले सम्बन्धित जग्गाधनीहरूको सर्वेक्षण समेत सम्पन्न गरिसकेको छ । सर्वेक्षण रिपोर्टसहित आइतबार नै पत्र लेखेर मालपोत पठाइसकेको प्रमुख जिल्ला अधिकारी दाहालले बताए । ‘अब कित्ताकाट गर्दै मुआब्जा वितरण अगाडि बढ्छ ।’ उनले भने । विशेषगरी बर्दिवास नगरपालिकामा रेल्वेको स्टेसन बन्नेभएपछि २०७३ सालमा करिब ६० बिगाहा जमिन सरकारले अधिग्रहण गरेको थियो । जग्गा अधिग्रहणसँगै नगरपालिकाका करिब एक सय ५० घरधुरी समस्या थिए । मुआब्जा वितरण प्रक्रिया अगाडि बढेपछि उनी खुसी भएका छन् ।

‘हामीले जग्गा पाँच वर्षदेखि न आफ्नो भन्न पाएका थियौँ न त निर्धक्क भएर भोगचलन नै गर्न पायौ, अब भने केही खुसी लागेको छ ।’ स्थानीय भरत अधिकारीले खुसी हुँदै भने ।

भंगाहा नगरपालिकाकामा भने १५ दिन अगाडिदेखि नै मुआब्जा वितरणका लागि प्रक्रिया अगाडि बढीसकेको छ । ‘नगरका १२ जनाले निर्धारित मुआब्जा पाइसकेका छन् ।’ प्रमुख जिल्ला अधिकारी दाहालले भने ।

सन् २०१४ मा भारत सरकारसँगको सम्झौतामा भारतकै अनुदान सहयोग सात अर्ब २० करोडसहित जयनगर–जनकपुर–बर्दिबास खण्डमा ब्रोडगेज निर्माण थालिएको थियो ।

मूल्य पुनरावलोकन गर्न माग

केही रेल्वे मुआब्जा पिडितहरूले भने अझै पनि मुआब्जामा पुनरावलोकन गर्नु पर्ने माग राख्दै आएका छन् । चलनचल्तीको मूल्य भन्दा निक्कै कम मुआब्जा दिएको उनीहरूको दुखेसो छ ।

मुआब्जा निर्धारण समितिले मूल्य निर्धारण गरेपछि बर्सिवासका सम्पूर्ण मुआब्जा पीडितहरूले केही दिन आन्दोलन समेत गरेका थिए । मुआब्जा निर्धारण समितिका संयोजक एवं तत्कालिन प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले जिल्लाबाट पुनरावलोकन गर्न नसकिने र त्यसका लागि गृह मन्त्रालयमा रिपोर्ट गर्न सुझाएपछि केही पीडितले गृहमन्त्रीसमक्ष गुनासो समेत गरेका थिए ।

गृहमन्त्री बालकृष्ण खाँणले प्रमुख जिल्ला अधिकारीलाई पिडितहरूको व्यक्तगत निवेदन लिन भनेपछि बर्दिबासका करिब एक सय ५० घरधुरीले निवेदन समेत दिएका थिए ।

निवेदनको आधारमा अर्को प्रक्रियामा अगाडि बढ्न गृहको निर्देशनपछि मुआब्जा निर्धारण समितिले सोही मूल्य कायम गरेको हो ।