logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कांग्रेस बैठकमा  निर्वाचनमा गठबन्धनबारे छलफल हुँदै, सानेपामा आज प्रदर्शन नहुने, भोलि भेलामार्फत विरोध जनाउने


अंकुरण खबर
819
Shares

नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा आज पनि स्थानीय निर्वाचन केन्द्रित छलफल हुने भएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजेपछि बस्ने बैठकमा गठबन्धन केन्द्रीय तहबाटै कि स्थानीय तहको आवश्यकताअनुसार गर्ने भन्ने विषयमा छलफल हुने भएको हो ।

बैठकमा निर्वाचन घोषणापत्रबारे पनि छलफल हुने भएको सहमहामन्त्री भीष्मराज आङ्देम्बेले जानकारी दिए । बैठकको पहिलो दिन शुक्रबार २२ जना नेताले धारणा राखेका थिए ।

अधिकांशले गठबन्धन आवश्यक रहेको जोड दिँदा केहीले गठबन्धनबिना निर्वाचनमा जानुपर्ने बताएका थिए । गठबन्धन आवश्यक रहेको भन्ने नेताहरू प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवानिकट हुन् ।

गठबन्धनबिना निर्वाचनमा जानुपर्ने मत राख्ने नेताहरू पार्टीका अर्का नेता डा. शेखर कोइराला पक्षीय हुन् ।

सानेपामा आज प्रदर्शन नहुने, भोलि भेलामार्फत विरोध जनाउने

नेपाल विद्यार्थी संघ र तरुण दलको अध्यक्ष सहमतिबिना नै मनोनयन गरेको भन्दै असन्तुष्ट शेखर कोइराला पक्षधरका तरुण र विद्यार्थीहरूले प्रदर्शन नगर्ने भएका छन् ।

गत शुक्रवार देखि सुरु भएको केन्द्रीय समिति बैठकअघि मनोनयनलाई लिएर विरोध प्रर्दशन गरेका विद्यार्थी नेताहरूले भेलामार्फत सन्देश दिन आजको कार्यक्रम स्थगित गरिएको पूर्व केन्द्रीय  सदस्य प्रेमिका रानामगरले जानकारी दिइन् ।

‘आज सानेपामा प्रदर्शन हुँदैन, काठमाडौंमा उपलब्ध साथीहररूको भेला भोलि बोलाईएको छ, सोही भेलावाट विरोध जनाउने छौँ’ रानाले न्युज कारखानासँग भनिन् । उनका अनुसार काठमाडौंमा उपलब्ध पूर्व अध्यक्षहरू, पदाधिकारीहरूको भेला भोलि १ बजे अनुपम फूडल्याडमा हुनेछ ।

गत बुधवार सभापति शेरबहादुर देउवाले नेविसंघ अध्यक्षमा दुजाङ शेर्पा र तरुण दलको अध्यक्षमा विद्वान गुरुङलाई नियुक्त गरेपछि असन्तुष्ट शेखर कोइराला समूहका विद्यार्थी नेताहरूले शुक्रबारको बैठकअघि सानेपामा विरोध प्रदर्शन गरेका थिए ।