नागार्जुन नगरपालिकाले नगरपालिकाको वडा नं ५ स्थित हरिसिद्धिमा आफ्नै प्रशासनिक भवनको उद्घाटन गरेको छ ।
जिल्ला समन्वय समिति काठमाडौंका प्रमुख शिवसुन्दर राज वैद्य र नागार्जुन नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेतले संयुक्त रुपमा नवनिर्मित भवनको उद्घाटन गरेका हुन् । कोरोनाको महामारीको समयमा पनि नगरपालिकाले छोटो अवधिमै आफ्नै प्रशासनिक भवन निर्माण सम्पन्न गरेको हो ।
भवन उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शिबसुन्दर राज वैद्यले नगरपालिकाले छोटो अवधिमै प्रशासनिक भवन निर्माण गरेकोमा नगरपालिकालाई धन्यवाद प्रदान गरे । नगरपािलकाले निर्माण गरेको भवन नगरपालिकाको प्रमुख प्रशासनिक इकाइ भएको भन्दै उनले अब सेवा प्रवाह झनै सहज र प्रवभाकारी हुने बताए ।
नागार्जुन नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेतले स्थानीय तहको निर्वाचन पछि नगरपालिकाले भौतिक विकासको काममा रोड मोडलको रुपमा गर्न सफल भएको बताए । कोरोनाको समयमा पनि स्वास्थ्य मापदण्ड पालना गरेर नगरपालिकाले विकास निर्माण र सेवा प्रवाहलाई प्रभावकारी बनाएको उनले स्पष्ट गरे ।
कार्यक्रममा नगरपालिका उपप्रमुख सुशिला अधिकारीले पाँच वर्षमा नगरपालिकाले गरेका विकास निर्माणका कामलाई तथ्याङ्कगत रुपमा उल्लेख गर्दैै नगरपालिकाको यस अवधिमा विकास र सेवा प्रवाहमा अपेक्षा गरिए भन्दा धेरै बिकास भएको बताइन् ।
त्यस्तै नगरपालिकाका प्रमुख प्रशासकीयक अधिकृत सुरेन्द्र थापा मगरले भवन निर्माण कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्नु हुने जिल्ला समन्वय समितिका पदाधिकारी, नगर प्रमुख, उपप्रमुख, नगरपालिकाका प्राविधिक कर्मचारी, निर्माण व्यवसाहि लगायत सबैलाई धन्यवाद प्रदान गरे । उनले नगरपालिकाले भौतिक पूर्वाधार निर्माणसँगै रोजगारी सिर्जना र सामाजिक विकासका कार्यलाई पनि उच्च प्राथमिकता दिएर कार्यान्वयन गरिएको दाबस् गरे ।
उक्त भवन जिल्ला समन्वय समिति काठमाडौं र नगरपालिकाको लागत साझेदारीमा निर्माण सम्पन्न भएको हो ।