logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आज छापामा छापिएका मूख्य खबर, अघोषित लोडसेडिङदेखि प्रधानमन्त्री आसन्न भारत भ्रमणका एजेण्डासम्म


अंकुरण खबर
2.457K
Shares

दैनिक १४ घण्टासम्म अघोषित लोडसेडिङ, लोडसेडिङले उद्योगहरू प्रभावित

अन्तर्राष्ट्रिय परिस्थितिलाई कारण देखाउँदै नेपाल विद्युत् प्राधिकरणले पछिल्लो समय औद्योगिक क्षेत्रमा लोडसेडिङको समय बढाउँदै लगेको छ ।

अघोषित लोडसेडिङका कारण हेटौँडा औद्योगिक क्षेत्रमा सञ्चालनमा रहेका उद्योगहरूको उत्पादन प्रभावित भएको छ। विद्युत् प्राधिकरणले लोडसेडिङको समय बढाएसँगै उद्योगहरूको दैनिक उत्पादनमा कटौती भएको हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले जनाएको छ।

अघिल्लो सातासम्म दैनिक एक(डेढ घण्टा लोडसेडिङ हुँदै आएकोमा शनिबार यता औद्योगिक क्षेत्रका उद्योगहरूले १४ घण्टासम्म लोडसेडिङको मार खेप्न बाध्य भएका छन् ।

प्राधिकरणले शनिबार साँझ ७ बजेदेखि आठ घण्टा, आइतबार साँझ ६ बजेदेखि १२ घण्टा र सोमबार दिउँसो ४ बजेदेखि १४ घण्टासम्म लोडसेडिङ गरेको छ। हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका क्षेत्र व्यवस्थापक राजेन्द्र कँडेलले मङ्गलबार साँझ ६ बजेदेखि १२ घण्टाका लागि लोडसेडिङ हुने जानकारी आएको बताए । आजको गोरखापत्र दैनिकबाट ।

प्रधानमन्त्रीको भारत भ्रमण : परराष्ट्र मन्त्रालयमा समन्वयको अभाव

प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न भारत भ्रमण तीन दिन बाँकी रहँदासम्म भ्रमणको एजेन्डा र भ्रमण दलका सदस्यबारे परराष्ट्र मन्त्रालयले अनभिज्ञता प्रकट गरेको छ ।

परराष्ट्र मन्त्रालयले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले भ्रमणको एजेन्डा र भ्रमण दलका सदस्यबारे छलफल जारी नै रहेकाले अहिले भन्न सक्ने अवस्था नरहेको बताइन् ।

पत्रकार सम्मेलनमा उनले मन्त्रालयले सोमबार जारी गरेको भ्रमण कार्यक्रम तालिकाभन्दा बढी बताइनन् । भारत भ्रमणको एजेन्डा वा सम्भावित एजेन्डाबारे पत्रकारले पटकपटक सोधेपछि आजित भएर प्रवक्ता लम्सालले भनिन्– ‘कृपया यस्तो प्रश्न नसोधेर सहयोग गरिदिनुहोला ।’ त्यस्तै भ्रमण दलको संख्याका विषयमा सोधिएको जिज्ञासामा पनि उहाँले अनभिज्ञता प्रकट गरेकी थिइन् । नेपाल समाचारपत्र दैनिकबाट ।

१० प्रतिशत मार्जिनले झन्झट

नेपाल राष्ट्र बैङ्कले, मौद्रिक नीतिमा भारतबाट क्रेडिट सुविधामा वस्तु आयात गर्न सकिने प्रावधानमा पुनरावलोकन गरेसँगै बैङ्कहरूले एड्भान्स पेमेन्ट र उधारो सुविधामा १० प्रतिशत मार्जिन लिन थालेको उद्योगीहरूले बताएका छन् । राष्ट्र बैङ्कको गत फागुनमा भएको अर्धवार्षिक समीक्षामा भारतबाट क्रेडिट सुविधामा वस्तु आयात गर्दा पाउने सुविधामा पुनरावलोकन गरेपछि त्यसको प्रभाव वस्तु आयातमा परेको हो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य एवं खाद्यान्न उद्योगी अविनाश बोहराले भारतबाट गरिने पैठारीका लागि बैङ्कमा सुरु गरिएको नयाँ नियमले उद्योगीलाई झन्झट दिएको बताए। यसले लगानी योग्य रकम होल्ड मात्रै गरेको बोहराको भनाइ छ। मार्जिन फुकुवा गर्ने बेलामा बैङ्कहरू आलटाल गर्न खोज्ने र भरसक समय लगाउने स्थितिको सामना गर्नुपर्ने उद्योगी बोहराको आरोप छ ।

अग्रिम भुक्तानी गरिएको मालवस्तु भारतबाट भन्सार बिन्दुसम्म आइपुग्न दुई महिना ढिला भयो भने बैङ्कमा राखेको मार्जिनको रकम पनि त्यति नै अवधि रोकिने उद्योगी बोहराको गुनासो छ। व्यवसायीको नगदै रकम निर्व्याजी रोकिँदा समस्या उत्पन्न हुने र बैङ्कहरूले बिना लगानी र बिनाकारण व्यवसायीको नगद चलाउन पाउने उद्योगीको बुझाइ छ। आजको गोरखापत्र दैनिकबाट ।

फिफा कतार विश्वकप २०२२, फर्नान्डेसको दुई गोलमा पोर्चुगल विश्वकपमा छनोट

ब्रुनो फर्नान्डेसको दुई गोलको सहयोगमा पोर्चुगल फिफा कतार विश्वकप २०२२ का लागि छनोट भएको छ ।

मंगलबार राति भएको युरोपेली छनोटको प्लेअफ फाइनलमा नर्थ म्यासेडोनियालाई २–० ले पराजित गर्दै पोर्चुगल विश्वकपका लागि छनोट भएको हो । घरेलु मैदानमा पोर्चुगललाई जित दिलाउन दुवै गोल ब्रुनो फर्नान्डेसले गरे । खेलको ३२ औँ मिनेटमा ब्रुनोले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए । उनले कप्तान क्रिस्टियानो रोनाल्डोको पासमा गोल गरेका थिए ।

६५ औँ मिनेटमा फर्नान्डेसले गोल गर्दै पोर्चुगललाई २–० को जित दिलाउँदै विश्वकपमा पुर्‍याए । उनले डिओगो जोटाको पासमा गोल गरे । मंगलबार राति नै भएको प्लेअफकै अर्को खेलमा पोल्यान्डले स्विडेनलाई हराउँदै विश्वकपमा छनोट भयो । एजेन्सीबाट ।

कोभिड राताहकोषमा हिनामिना, अख्तियारले लियो कागजात नियन्त्रणमा

पर्साको जगरनाथपुर गाउँपालिकाको कार्यालयबाट मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभिन्न कागजात नियन्त्रणमा लिएको छ।

अनुदानको रकम हिनामिना गरेको विषयमा सम्बन्धित फाँटका कर्मचारीसँग सोधपुछ गरिएको अख्तियारको क्षेत्रीय कार्यालय हेटौंडाका सूचना अधिकारी विष्णुप्रसाद सापकोटाले बताए।

कोभिड प्रभावित विपन्न परिवारका लागि राहत बाँड्न केन्द्र सरकारले रकम पठाएको थियो। त्यसबारे बुझ्न अख्तियारको क्षेत्रीय कार्यालयबाट मंगलबार प्रहरी नायव उपरीक्षक गणेश बरालको नेतृत्व टोली खटिएको हो। उक्त टोली अनुदान दुरुपयोगसम्बन्धी कागजात र फाइल नियन्त्रणमा लिएर साँझ फर्किएको सूचना अधिकारी सापकोटाले बताए। प्रमुख प्रशासकीय अधिकृत राज कुशवाहा बिदामा बसेको जानकारी पाएपछि शिक्षा, स्वास्थ्य र लेखा शाखाका प्रमुखहरूसँग सोधपुछ गरिएको उनको भनाइ छ।

गाउँपालिकाबाट रकम वितरण गरिएको भनेर तयार पारिएको बिल भर्पाई, भौचरका साथै अन्य कागजात र फाइल नियन्त्रणमा लिएर आएको उनले बताए। भने, ुअब यी सबै कागजातबारे अनुसन्धान हुन्छ । त्यसपछि आवश्यकताअनुसार प्रक्रिया अघि बढाइन्छ। अन्नपूर्ण पोष्ट दैनिकबाट।