लामो इतिहास बोकेको सुनसरीको दुहबीमा संचालित श्री पशुपति बिस्कुट इण्डष्ट्रिज प्रालि १५ दिनका लागि बन्द गरिएको छ ।
प्रतिष्ठित औद्योगिक घराना चौधरी ग्रुपको इतिहाससँग जोडिएको यो बिस्कुट उद्योगको उत्पादन प्रक्रिया १५ दिनका लागि बन्द गरिएको हो ।
बिस्कुट पकाउने ओभनहरु जोडिएका मेसिनहरुको मर्मतसम्भार र सरसफाईको उद्देश्यले १५ दिनका लागि उत्पादन रोकिएको बिएलसी होल्डिङ प्रालिका संस्थागत संचार विभाग प्रमुख सोमनाथ बास्तोलाले एक विज्ञप्तिमार्फत प्रष्ट पारेका छन् ।
उनले आज जारी गरेको विज्ञप्तिमा सुनसरीको दुहबीमा संचालित ‘श्री पशुपति बिस्कुट इण्डष्ट्रिज प्रालि बन्द’ भन्ने आशयबाट केही संचारमाध्यममा प्रकाशित समाचारको खण्डन समेत गरिएको छ ।
‘समाचारहरुमा उल्लेख गरिएजस्तो पशुपति बिस्कुट उद्योग अनिश्चितकालका लागि बन्द भन्ने विषयमा सत्यता नभएको यसै विज्ञप्तिमार्फत प्रष्ट पार्न चाहन्छौं ।’ विज्ञप्तिमा भनिएको छ–‘समाचारहरुमा उल्लेख भएजस्ता कारणले उद्योग बन्द भएको नभई केही दिनका लागि उत्पादन प्रक्रिया मात्र बन्द गरिएको हो । ओभनहरु जोडिएका मेसिनहरुको मर्मतसम्भार र सरसफाईको उद्देश्यले १५ दिनका लागि उत्पादन रोकिएको प्रष्ट पार्न चाहन्छौं ।’
यसैबीच, समाचारहरुमा आफ्नो नाम जोडिएकोमा उद्योगका संचालक बसन्त चौधरीले पनि दुःख प्रकट गरेका छन् । ‘संचारमाध्यमहरुले मसँग कुरा नै नगरी अनावश्यक रुपमा मेरो नाम उदृत गरेकोप्रति दुःख प्रकट गर्दछु ।’ उनले भने ।
प्रेस विज्ञप्ति सहित:
