स्थानीय तहको निर्वाचन नजिकिएसंगै पार्टी परित्याग र प्रवेशको लहरनै चलेको छ ।
विशेषतः ठुला राजनीतिक दल नेकपा एमाले, नेपाली कांग्रेस र एकीकृत नेकपा माओवादी लगाएतका दलहरु दिनदिनै पार्टी प्रवेशमै व्यस्त देखिन्छन् । यसै क्रममा आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टी प्रवेश गराउनको लागि खोटाङको दिक्तेल जाँदै छन् । पार्टीले आयोजना गर्ने कार्यक्रममा उनले विभिन्न पार्टी परित्याग गर्नेहरूलाई एमालेमा प्रवेश गराउनेछन् ।
निर्वाचनको संघारमा ओली देश दौडाहामा छन् । उनी शुक्रबार मात्रै देशको पश्चिमी क्षेत्रका जिल्लाहरूमा पार्टीले आयोजना गरेको कार्यक्रमहरूलाई सम्बोधन गरेर आएका हुन् ।
यस्तै एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्प कमल दाहाल(प्रचण्ड)ले आज भूतपूर्व गोरखा सैनिकहरूलाई पार्टी प्रवेश गराउँने कार्यक्रम छ ।
आज दिउँसो ४ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा भूतपूर्व गोरखा सैनिकहरूको संगठन गेसोका केही पदाधिकारीसहित सदस्यहरूलाई पार्टी प्रवेश गराउने भएका हुन् ।
पार्टी प्रवेश गर्नेहरूमध्ये केही नेताको आजै जिम्मेवारी तोकिने माओवादी केन्द्रले जनाएको छ । जिम्मेवारी प्राप्तपछि स्थानीय तह निर्वाचन अभियानमा खटाइने भएको छ ।