logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अमेरिकाको सान प्रान्सिस्कोमा ‘नेपाल डे परेड’ हुने


अंकुरण खबर
1.417K
Shares

अमेरिकाको क्यालिफोर्नियास्थित सान फ्रान्सिस्को सहरमा ‘नेपाल डे परेड’ आयोजना हुने भएको छ ।

नेपाली नयाँ वर्षको अवसरमा ९ अप्रिल २०२२ मा नेपाली पहिचान झल्किने ‘नेपाल डे परेड’ आयोजना गर्न थालिएको आयोजक मनी नेपाली पनेरुले बताए ।

परेड मूल आयोजक समितिका नेपाल प्रतिनिधि तथा नेपाल विश्व सहयोग संघका अन्तर्राष्ट्रिय अध्यक्षसमेत रहेका पनेरुले नेपालको पहिचान अमेरिका सामु गराउन कार्यक्रमले टेवा पुर्‍याउने विश्वास व्यक्त गरेका छन् ।

नयाँ वर्ष २०७९ को पूर्व सन्ध्यामा हुनलागेको परेडले नेपाल चिनाउनका साथै नेपालको पर्यटनलाई सघाउने उद्देश्य रहेको उनी बताउँछन् । परेडले नेपाललाई पर्यटन गन्तव्यको रूपमा विदेशीलाई आकर्षण गर्ने अपेक्षा आफूहरूको रहेको उनले बताए ।

गैर आवासीय नेपाली संघ अमेरिकाको वेस्ट रिजन तथा क्यालिफोर्निया च्याप्टरको प्रमुख सक्रियतामा हुनलागेको कार्यक्रममा क्यालिफोर्नियाका ५० भन्दा धेरै संस्था आबद्ध रहेका छन् ।

‘परेडमा  विभिन्न जातजातिका भेसभुसा र झाँकीसहित लाखे नाच र पन्चे बाजा बजाइने छ । परेडपछि अप्रिल ९ को साँझमा सांस्कृतिक कार्यक्रम गरिने छ । जसमा सुप्रसिद्ध कलाकारहरूको प्रस्तुति रहने छ,’ पनेरुले भने ।

अमेरिका विभिन्न राज्यबाटसमेत बाक्लो उपस्थिति रहने परेड आफैँमा एक उत्सव भएको उनले बताए। समितिका संयोजक वेस्ट रिजन चेअर श्रीराम थापा, क्यालिफोर्निया च्याप्टरका अध्यक्ष एकदेव शर्मा तथा सहभागी संस्था समन्वय समितिका सभापति उत्तम कार्कीले आफूहरू जहाँ रहे पनि नेपालको माया सधैँ मनमा रहने प्रेस वक्तव्यमार्फत जनाएका छन् ।