logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

राष्ट्रसंघीय शान्ति मिसनमा नेपाली सेनाः एक लाख ४० हजारभन्दा बढी सहभागी, ७२ जनाले गुमाए ज्यान  


अंकुरण खबर
936
Shares

कंगोस्थित संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा खटिएका एक जना नेपाली सैनिकको मंगलबार मृत्यु भयो । मृत्यु हुनेमा सुर्खेतको गुर्माकोट–१४ का सिपाही अनिल गुरुङ छन् ।

कंगोको विद्रोही समूहले चलाएको गोली लागि उनको मृत्यु भएको थियो । नेपाली सेनाका प्रवक्ता सहायक रथि नारायण सिलवालका अनुसार गुरुङ्को मृत्युसँगै राष्ट्रसंघको शान्ति मिसनमा खटिने क्रममा वीरगती प्राप्त गर्ने नेपाली सैनिकको संख्या ७२ पुगेको छ ।

नेपाल सन् १९५५ मा राष्ट्रसंघको संघको सदस्य भएपछि त्यसको चार वर्ष बित्न नपाउँदै शान्ति सैनिक पठाउन थालेको हो । नेपालले पहिलो पटक सन् १९५८ मा सैन्य पर्यवेक्षकको रुपमा पाँच जना सैनिकलाई लेबनानमा पठाएको थियो ।

नेपालले राष्ट्रसंघको शान्ति मिसनमा शान्ति सेना पठाउन थालेको ६४ वर्ष पुगेको छ । यो अवधिमा १ लाख ४० हजार २०२ जना नेपाली शान्ति सैनिक राष्ट्रसंघीय मिसनमा खटिएका छन्, जसमध्ये ७२ जनाको शान्तिस्थापनाका क्रममा ज्यान गुमाएका हुन् ।

नेपालले हालसम्म राष्ट्रसंघका ४३ वटा मिसनमा आफ्ना सैनिक पठाइसकेको छ । अहिले राष्ट्रसंघको शान्ति मिसनमा सबैभन्दा बढी सैनिक पठाउने राष्ट्रको सूचीमा नेपाल दोस्रो नम्बरमा रहेको सेनाले जनाएको छ ।

‘नेपाली सेनाले जहिले पनि चुनौतीलाई स्वीकार गर्दै कठिन अपरेशनमा भाग लिएको छ । यस सिलसिलामा आजसम्म ७२ जना सैनिकले वीरगती प्राप्त गरेका छन् भने ६६ जना अपाङ्ग भएका छन्,’ नेपाली सेनाका प्रवत्ता सिलवालले न्युज कारखानासँग भने ।

हाल विश्वका ११ देशका रहेका १२ वटा राष्ट्रसंघीय शान्ति मिसनमा करिव ५ हजार ५ सय नेपाली सेना खटिएको उनले जनाए । खटिने सैनिकमा २५० जना महिला सैनिक रहेका छन् ।

अहिले सिरिया, वेस्टर्न सहारा, माली, कंगो, सेन्ट्रल अफ्रिकन रिपब्लिक, लेबनान, इराक, लिविया, इजरायल, यमन, सुडान र दक्षिण सुडानमा रहेका शान्ति मिसनमा नेपाली सेना खटिएका छन् ।

सिरियामा ४११, वेस्टर्न सहारामा ३, मालीमा १७५, कंगोमा १ हजार १५४, सेन्ट्रल अफ्रिकन रिपब्लिकमा ७५६, लेबनानमा ८७२, इराकमा ७७, लिवियामा २३५, इजरायलमा ३, सुडानमा २१ र दक्षिण सुडानमा १ हजार ७५२ जना सैनिक हाल तैनाथ रहेको प्रवक्ता सिलवालले जनाए । यसको अलवामा हाल राष्ट्रसंघको शान्ति मिसनमा नेपालको तर्फबाट १९६ जना सशस्त्र प्रहरी र ३७ जना नेपाल प्रहरी खटिएका छन् ।