राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने विषयमा निर्णय नभएको स्पष्ट पारेका छन्।
आज चितवनमा पत्रकारसँग कुराकानी गर्दै उनले अन्य पार्टीसँग पनि औपचारिकरुपमा गठवन्धनको कुरा नचलाएको जानकारी दिए। उनले भने, ‘अन्य पार्टीसँग पनि औपचारिक गठबन्धन गरेर चुनाव लड्ने निर्णय गरेको छैन। यस खालका कुराकानीहरु कुनै दलसंग पनि चलाएको छैन।’
यसपालिको निर्वाचनमा राप्रपा देशैभर आफ्नो सामथ्र्यले लड्ने उनले बताए। उनले भने, ‘केही स्थानीय तहमा आवश्यकताअनुसार तालमेल भयो भने बेग्लै कुरा हो। हामीले स्थानीय तहलाई त्यसै छोड्दिने निर्णय गरेका छौं।’
शिक्षाको विकास र सुधार नभएसम्म अन्य विकासले पूर्णता नपाउने जनाउँदै उहाँले स्थानीय तहमा राप्रपाले निर्वाचन जितेका ठाउँहरुमा निःशुल्क शिक्षा दिने बताए। उनले भने, ‘कक्षा १२ सम्म निस्शुल्क शिक्षा दिने गरी तयारी गरेका छौ।’
फरक प्रसंगमा अध्यक्ष लिङ्देनले राजनीतिलाई पेसाव्यवसाय मान्नेहरु पार्टीबाट बाहिरिएको बताए। उनले भने, ‘राजनीतिलाई परिवारको श्रीवृद्धि मान्नेहरु पार्टीबाट बाहिरिएका छन्।’ देशलाई मायाँ गर्ने, राजनीतिलाई समाज सेवा ठान्नेहरू यही पार्टीमा रहेको उनको तर्क थियो।