माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको निर्वाचन तोकिएकै समयमा हुने स्पष्ट पारेका छन्।
वैशाख ३० गतेको निर्वाचन सरकारले आफ्नो अनुकूल बनाउन सार्ने हल्ला चलिरहेका बेला प्रचण्डले सबैलाई यस्तो भ्रममा नपर्न आग्रह गरेका हुन्।
माओवादी केन्द्रको पार्टी कार्यालय पेरिस डाँडामा आयोजित पत्रकार सम्मेलनमा उनले चुनावमा गरिने तालमेलबारे आजै निर्णय भइसक्ने पनि जिकिर गरेका छन्।
‘निर्वाचन सर्दैन्। ३० वैशाखमै निर्वाचन हुन्छ, गठबन्धनमा आबद्ध दलहरू निर्वाचनको तयारीमा केन्द्रित भएर लागेका छौं । आम मतदातालाई म आ-आफ्नो ठाउँबाट निर्वाचनमा सहयोग गर्न आग्रह गर्दछु,’ प्रचण्डले भने।
६ वटा महानगरमा भागवण्डा मिलिसकेको पनि उनले उल्लेख गरेका छन्। उनी भर्खरै सत्तारुढ गठबन्धनको बैठकबाट पार्टी कार्यालयमा निर्धारित पत्रकार सम्मेलनका लागि पेरिस डाँडा पुगेका हुन्।
बिहानदेखि बसेको गठबन्धन बैठकबाट प्रचण्ड बाहिरिएपछि गठबन्धन बैठक स्थगित भएको छ। यद्यपी बैठकमा फेरि प्रचण्ड सहभागी हुने छन्।