डडेल्धुरा, ‘नगर क्षेत्रमा अव्यवस्थित रूपमा ग्यारेजहरु खोलिएका छन् । यसले दर्घटना निम्त्याइरहेको छ ।
ट्राफिक जाम पनि हुने गरेको छ । त्यसैले छरिएर रहेका ग्यारेजहरूलाई एक ठाउँमा राख्ने र यसमार्फत नगरपालिकाको दीर्घकालीन रूपमा आम्दानी स्रोत जोड्ने ढंगले यो संयुक्त ग्यारेज निर्माण थालेका हौँ,’ अमरगढी नगरपालिका–१ ढुन्ढुनेमा संयुक्त ग्यारेज बनाउने क्रममा अमरगढी नगरप्रमुख विशेश्वरप्रसाद ओझाले भनेका थिए ।
तर, चार वर्ष पुग्न लाग्दासमेत नगर प्रमुख ओझाले बनाउने भनेको संयुक्त ग्यारेज बन्न सकेको छैन । १० लाख लागतमा डोजर प्रयोग गरेर फिल्ड मात्र निर्माण गरिएको छ । अहिले ग्यारेज निर्माण आर्थिक अभावले अलपत्र परेको छ ।
अव्यवस्थित, कोलाहल, भिडभाडले यात्रुहरू दिक्दार हुन्छन् डडेल्धुरामा । सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्लाको ‘ट्रान्जिट प्वाइन्ट’ हो, डडेल्धुरा । जिल्ला सदरमुकामको साघुँरो सडक आफैँमा चुनौतीको रूपमा रहेको छ ।
साघुँरो र खाल्टाखुल्टी परेको सडकले सवारी चालकलाई मात्र होइन्, यात्रु पनि निकै समस्यामा छन् । दिनानुदिन बढिरहेका सवारी चापलाई व्यवस्थित गर्न पार्किङको भरपर्दो योजनाअघि सार्नुपर्ने चुनौती छ । तर, यो समस्या समाधान गर्न भने अमरगढी नगरपालिकाको ध्यान पुगेको छैन ।
बसपार्क नहुँदा सडकमा पार्किङ गर्नुपर्ने समस्या यात्रुको लागि नौलो कुरा होइन् । तर, त्यसैमा थप चुनौती बनेको छ, अव्यवस्थित ग्यारेज । बागबजार, तफान्डाँडा, स्याउलेमा जथावाभी खोलिएका ग्यारेजले गर्दा सवारीसाधन तथा यात्रुलाई असर गरिरहेको छ । अव्यवस्थित ग्यारेजका कारण दुर्घटनाको जोखिम निम्त्याएको छ ।
मापदण्डविपरीत संयुक्त ग्यारेज
ग्यारेज बनाउँदा सडकभन्दा ५० मिटर दायाँबायाँ छोडेर मात्र निर्माण गर्न पाइन्छ । तर, डडेल्धुरामा सरकारीको नियमको धज्जी उडाउँदै ग्यारेज सञ्चालनमा छन् । यातायात व्यवस्था कार्यालय डडेल्धुराका सूचना अधिकारी प्रशान्त श्रेष्ठले अमरगढी नगरपालिका, ट्राफिक प्रहरीको समन्वयमा सडकछेउमै रहेका ग्यारेजको अनुगमन गरेको र उनीहरूलाई सचेत पारेको बताउँछन् । ‘अनुगमनका क्रममा मापदण्डमा रहेर ग्यारेज सञ्चालन गर्न भनेका छौं । नत्र कारबाही हुन्छ भनेर निर्देशन दिएका थियौं,’ उनले भने ।
तर, यातायता कार्यालयले अनुगमन गरेको लामो समय भइसक्दासमेत सडकमै अव्यवस्थित रूपमा ग्यारेज सञ्चालनमा रहेका छन् । अमरगढीले बनाउने भनेको संयुक्त ग्यारेज पनि मापदण्ड मिचेर बनाउन
लागिएको पाइएको छ । सडकभन्दा ५० मिटर टाढा मात्रै ग्यारेज निर्माण गर्नुपर्ने भए पनि ढुन्ढुनेमा संयुक्त ग्यारेज बनाइरहेको अमरगढीले ५० मिटर पनि नछोडेर सडक छेउमै बनाइरहेको छ ।
सोही ठाउँमा भूमिराज प्रावि विद्यालयसमेत रहेको छ । अब, सोही ठाउँमा नगरले औद्योगिक ग्राम सञ्चालनको तयारी गरेको र त्यसैमा ग्यारेज बनाउने अमरगढी–१ का वडाअध्यक्ष लोकबहादुर ऐर बताउँछन् ।