logo
  • आइतवार, कार्तिक २३, २०८३ / Sunday, Nov, 08 ,2026

लमजुङमा ठूला दलले आज मनोनयन दर्ता गराउने


अंकुरण खबर
429
Shares

३० वैशाखमा तय भएकाे स्थानीय तहको निर्वाचनका लागि लमजुङमा ठूला राजनीतिक दलले आज साेमबार उम्मेदवारी दर्ता गराउने भएका छन् । एमाले, कांग्रेस र माओवादीलेसहितका दलहरुले समयमै उम्मेदवार छनाेट गर्न नसक्दा आइतबार मनाेनयन नै दर्ता गराएनन् ।

लमजुङमा सत्तारुढ चार दलले गठबन्धन गर्ने भनिए पनि साझा उम्मेदवार छान्‍न सकेका छैनन्। ८ स्थानीय तह रहेको लमजुङमा एक स्थानीय तहको प्रमुखम माओवादीले पाउने भएको छ ।

गठबन्धन दलमा माओवादीलाई दोर्दी गाउँपालिकाको प्रमुख, राइनास नगरपालिका, मर्स्याङदी गाउँपालिका, मध्यनेपाल नगरपालिका र दूधपोखरी गाउँपालिकाको उपप्रमुख दिनेगरी सहमति भएको भनिए पनि आइतबार रातिसम्म उम्मेदवार सार्वजानिक गरिएन ।

बेसीसहर र सुन्दरबजार नगरपालिकामध्ये एउटाको उपप्रमुख एकीकृत समाजवादीलाई तथा एउटा माओवादी केन्द्रलाई दिने सहमति भएको छ । नेकपा एमालेले पनि एक पालिकाबाहेक अन्यन्त्र आफ्ना उम्मेदवार सार्वजनिक गरेको छैन ।

एमालेबाट क्होँलासोँथर गाउँपालिका अध्यक्षमा सूर्य गुरुङ सर्वसम्मत उम्मेदवार छनाेट भएका छन्। चार नगरपालिका र चार गाउँपालिका रहेको लमजुङमा ७५ वटा वडा छन् । लमजुङमा ०७४ को स्थानीय तहको निर्वाचनमा एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल भएको थियो । ०७४ मा एमालेले पाँच स्थानीय तहको प्रमुख र चार स्थानीय तहमा उपप्रमुख जितेको थियो ।

माओवादीले दोर्दी गाउँपालिका प्रमुख र मर्स्याङदी गाउँपालिकाको उपप्रमुख मात्र जितेको थियो । मध्यनेपाल, राइनास र दूधपोखरीमा माओवादी उमेदवार पराजित भएका थिए भने एमालेको दुधपोखरी गाउँपालिकाको उपप्रमुख उम्मेदवार पराजित भएका थिए । अघिल्लो निर्वाचनमा कांग्रेसले दूधपोखरी गाउँपालिकाको प्रमुख र उपप्रमुख, मध्यनेपाल नगरपालिकाको प्रमुख, राइनास र सुन्दरबजार नगरपालिकाको उपप्रमुख जितेको थियो ।