logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

म, राजनीति र पर्या साहित्य…


अंकुरण खबर
3.016K
Shares

आधुनिक नेपालको निर्माणसँगै नेपाली नागरिकमा जसरी तिव्ररुपमा राजनैतिक चेतनाको बिकास भयो यो आफैमा सकारात्मक पक्ष हो । पचासको दशकपछि नेपाली जनताले जसरी समाजसँग सिधै सरोकार राख्ने बिषयहरु( शिक्षा, स्वस्थ्य, रोजगार शसक्तीकरण, नितिनिर्माण र बिकास)का मुद्धाहरुमा प्रत्यक्षरुपमा सरोकार राख्न अग्रसर भए यो आफैमा सुन्दर पक्ष हो ।

पछिल्लो समय छोटो समयको निम्ति नेपाल आउदा जसरी सदन, टेलिभिजन, रेडियो, पत्रपत्रिका, चिया पसल, भट्टिपसल, कार्यालय सबै जसो क्षेत्रहरुमा राजनीतिको चर्को बहस भैरहेको सुनें यो देखेर म केही सकारात्मक भएँ र अलिकता सोच्न वाध्य पनि । म लामो समयदेखि रोजगारीको सिलसिलामा हङकङ र बेलायतमा रहें । यि देशहरु आफैमा बिकास, सवृद्धिको शिखरमा पुगेका देशहरु हुन् । बर्ष बर्षमा नेपाल केही समयको निम्ति आउने गर्छु । किनकी जहाँ गएपनि आफ्नो देशको माया मनमस्तीष्कबाट नहराउने रहेछ । पछिल्लो समयको मेरो नेपाल यात्रामा मैले के देखे भने (विद्यार्थी, कर्मचारी, पुलिस, सैनिक, ब्यापारीदेखि साधारण ड्राइभर, मजदुर, रिक्सावाला सबैमा एक कीसिमको राजनीतिक प्रभाव परेको र उनीहरुको कुनै न कुनै पार्टीमा सम्लग्नता रहेको भेटें । साच्चै भन्नुपर्दा राजनीतिबाट मुक्त रहेर स्वतन्त्ररुपमा नविनतम चेत बोकेको एक साधारण नेपाली भेट्न मलाई हम्मे हम्मे भयो ।

यसो हुनु भनेको, मेरो बिचारमा कुनैपनि सन्तुलित र सम्वृद्धितर्फ अग्रसर समाजको निम्ति निराशाजनक अवस्था हो । अचम्म त के भने, हाम्रा राजनैतिक नेताहरुलाई हास्यब्याङ्य र कलाकारितामा हाँसोको मुख्य पात्र बनाइएको हुन्छ । मह, धुर्मुस, मनोज गजुरेल, तक्मे बुढा अथवा तितो सत्यहरुमा गिरिजा, मनमोहन, प्रचन्ड, कृष्णप्रसाद, माधवकुमार, रामप्रसाद, केपी, शेरबहादुर लगायतलाई हासोको पात्र बनाएको पाइन्छ । यो मलाई कताकता असहज लाग्यो । तर यस्तो प्रवृतिले नेपाली समाजको चेतना र हाम्रो नेताहरुको चिन्तनको अवस्थालाई बुझ्न सहज हुन्छ । हाम्रो राजनैतिक अवस्था कहाँ छ ? हामीले सुधार गरेर लानुपर्ने अवस्था के के हुन् ? अनि नागरिक स्वयंमको चाहि समाज र देशबिकासको निम्ति भुमिका र कर्तव्य के हो ? यस्ता प्रश्नहरु मेरो मानसपटलमा तेर्सिन्छन् ।

कहिलेकाहीँ म यो बेलायतको सूदुर स्थानबाट सोच्ने गर्छु । नेपाल “राजनीति” उत्पादन गर्ने फ्याक्ट्री हो ? अनि यो राजनीतिलाई निर्यातको मुख्य बस्तु बनाउन सके देशको अर्थतन्त्र कति दरिलो हुन्थ्यो होला । हामीकहाँ राजनीतिशास्त्र पढ्न संसार भरिका विद्यार्थी खुबै ओईरन्थे होला । हाम्रा नेताहरुलाई प्रोफेसरको काम दिनसके गजबले लेक्चर दिन्थे होलान् । खैर यी त भए मेरा आफ्ना विचार ।

यता बिदेशतिर आम मान्छेहरुसँग राजनीतिको कुरो गर्दा उनीहरुले राजनीतिप्रति त्यती चासो नदेखाएको मैले पाएको छु । म स्वयं चाहि राजनैतिक चिन्ता गर्छु तर राजनीति गर्दिन । तर नेपालमा त्यस्तो अवस्था छैन । अझ पछिल्लो १० बर्षे जनयुद्धले हामी नेपालीको चेतनास्तर यति माथि उठीसकेको छ की संसारभरिको ठुला-ठुला दर्शन र परिघटनाहरुप्रति हामी जानकार हुन्छौं । तर आफ्नै घर र टोलहरु कसरी सफा र हराभरा बनाउने, धुलोधुँवा मुक्त वातावरण कसरि सृजना गर्ने, जमिन र पानीलाई फोहरपानि र ढलबाट कसरि प्रदुषण हुन नदिने, र समग्रमा पर्याबरणलाई कसरी संरक्षण गर्ने भन्ने जस्ता बिषयप्रति त्यति ध्यान गएको देखिन । यी र यस्ता साना साना बिषयलाई मात्रै ध्यान दिनसके पनि हामी बिकासको बाटो तर्फ अग्रसर हुनेछौँ ।

बिकसीत मुलुकका आम नागरिक आफ्ना पेशामा बिज्ञ हुन्छन् तर राजनीतिमा हामि नेपालीले जस्तो मरिहत्ते गरेर चासोँ लिँदैनन । तर नेपालमा किन यस्तो ? के संसारको सबै तेस्रो मुलुकमा नेपालमा झै सर्बसाधारणको सामान्य दिनचर्यामा राजनीतिको भुत चढेको हुन्छ ?

अब अलिकता बर्तमान समयमा लेखिएको नेपाली साहित्यको बिषयमा चर्चा गर्छु । सरसर्ति हेर्दा साहित्य पनि राजनीतिबाट अछुतो छैन । तीसको दशकमा लेखिएका धेरैजसो साहित्यमा कहि न कहि राजनिति छ, र पचासको दशक यता लेखिएका धेरैजसो साहित्यमा पहिचानको बिषय प्रखररुपमा आएका छन् । अनि महिलाको बिषय पनि उत्तिकै मात्रामा उठान भएको पाइन्छ । तर पर्यावरणिय दुष्टिबाट लेखिएका साहित्य न त त्यति धेरै छन् न नै यो बिषयमा चर्चा भएको देखिन्छ ।

जबकी आजको जलवायु परिवर्तन, जैविक विविधतामा ह्रास, जलरथलरवायुमन्डल प्रदुषणै प्रदुषणबाट गुज्रिरहेको अवस्थामा यो संसारलाई बचाईरहन पर्या साहित्यले महत्वपुर्ण भुमिका खेल्न सक्छ जस्तो मलाइ लाग्छ ।

भानुभक्तको पालादेखी भ्रष्टाचार र शोषण बिरुद्दमा साहित्य लेखिन थालिएको हो । सय बर्षको नेपाली साहित्य लेखनको इतिहासमा बेथिति बिरुद्ध लेखिएका साहित्यका हजारौ किताबहरु छन् । तर आजपनि यो संसारमा बेथिति त्यस्तै बिधमान छ, बिसंगती उत्तिकै विधमान छ । हामी संसराभरका नेता, पत्रकार, बुद्धजिबी, र नेतृत्वमा रहेकाहरुले यो पृथ्वीलाई बचाइरहन के कति भुमिका खेल्यौ यो एउटा गम्भीर प्रश्न हो । मेरो मस्तीष्कमा लेखक आफैले चाहीँ यो क्षयीकरणतिर धकेलिएको पृथ्विको संरक्षणार्थ केही मत्रामै भएपनि सकारात्मक भुमिका खेल्न सक्छ भन्ने हुटहुटीले पोलीरहन्छ । लेखकका शब्दहरुले यि प्रदुषित खोलानाला, जमिन र वायुमन्डललाई स्वाच्छ बनाइराख्न सकिन्छकी भन्ने लाग्छ ।

बिकासको चरम सफलताले आखिर यो बिश्वलाई यति नाजुक अवस्थामा पुर्याएको छ की पृथ्वीको पारिस्थितिकी अपरिवर्तनिय रुपले संकटमा पर्दै छ । यस बिषयप्रति सचेत हुन र आम नागरिकप्रति जागरण ल्याउन साहित्यमा पार्य लेखन तथा पर्या समालोचना अपरिहार्य देखिन्छ । मेरो बिचारमा बिश्वभरका लेखक सर्जकहरुले यतातिर चासो देखाउन जरुरी छ । मान्छेकै कारणले मानविय अस्तित्वलाई जोगाईराख्न महत्वपूर्ण भूमिका खेल्ने बनस्पती तथा बन्यजन्तु लोप हुँदै गएको अवस्था छ । पृथ्वीको खस्किदो बातावरणको प्रमुख कारण हामी मानव रहेछौं भन्ने कुरामा हामी अलिकति मात्रै सचेत भयौं भने बातावरणलाई संरक्षण गर्न सक्छौं । यही सोच अनुरुप अबको दिनहरुमा नेपाली साहित्यको केन्द्रमा पार्यसाहित्यको बिषयमा बहस हुन जरुरी छ ।

अनि त मेरा अहिले सम्मका साहित्यिक लेखनको ठुलो फाँट पर्यावरणीय अर्थात इको चेतले सिन्चीत छ भन्न रुचाउँछु । गत एक दसक यता लेखिएका मेरा कबिता तथा कथा प्रायजसो इको केन्द्रित छन । अर्को दुष्टिकोणबाट बिश्लेषण गर्ने हो भने इको साहित्यलाई इको फेमिनिस्म अर्थात पार्या नारीबाद भन्दा फरक नपर्ला, किनकी पृथ्वी र नारी एकअर्कोको पयार्य हो जस्तो लाग्छ । पृथ्वी र वतावरणलाई म एक महिला जस्तै कोमल, सुन्दर, लज्जालु र मायालु तर संवेदनशील, र असुरक्षित देख्छु । मेरा पर्या लेखन पनि पर्या नारीवादी हुन्छन । अनि त आउने पुस्ताको निम्ति प्रकृतिलाई जस्ताको त्यस्तै शुन्दर रुपमा हस्तान्तरण गर्न पनि म पर्या साहित्य लेखनतिर होमिएको हुँ र अन्य नेपाली साहित्यकारलाई यतातिर आफ्ना कलमका धार मोडन हार्दिक अनुरोध पनि गर्दछु ।