नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काठमाडौं महानगरमा पाँच वर्षको समय खेर फाल्ने एमालेले दण्ड पाउनुपर्ने बताएका छन्।
आज (बिहीबार) काठमाडौं महानगरका क्रियाशील सदस्यको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले ‘खेर गएको पाँच वर्षको जिम्मा एमालेले लिनुपर्छ, त्यसमा पनि विशेष गरी केपी ओलीले जिम्मा लिनुपर्छ।’
त्यसको जिम्मेवारी एमालेले लिने मात्र नभएर मतदाताबाट दण्डको भागीदारसमेत हुनुपर्ने महामन्त्री थापाको भनाइ थियो। २०४८ सालमा गरेको गल्तीका कारण २०५१ को निर्वाचनमा मतदाताबाट कांग्रेसले दण्डित हुनपरेको समरण गर्दै उनले अब एमालेले मतदाताबाट दण्डित हुनुपर्ने अवस्था आएको बताए।
सोही क्रममा उनले काठमाडौं महानगरका लागि मेयर उम्मेदवार केशव स्थापितले सिंगो महिला जगतको अपमान गरेको टिप्पणी पनि गरे। महिलाको अपमान गर्ने स्थापितलाई भोट दिनु भनेको एमाले उपमेयर उम्मेदवारको समेत अपमान गरेको ठहरिने उनको भनाइ थियो। एमालेले काठमाडौं उपमेयरमा सुनिता डंगोललाई अघि सारेको छ।
केही दिनअघि काठमाडौंमा आयोजित एक कार्यक्रममा महिलामाथिको यौन दुर्व्यवहारबारे लागेको आरोपसम्बन्धी प्रश्न उठाउने सहभागीलाई उनी एकाएक जंगिएका थिए र अपमानजनक ढंगले प्रश्नकर्तामाथि खनिएका थिए।
महामन्त्री थापाले एमालेले हिन्दुदेखि क्रिश्चियन धर्म वकालत गर्ने दलसम्मका दलहरुसँग गठबन्धनमा उत्रिएको तर्क गरे। उनले मुलुकको परिवर्तनलाई जोगाउनकै लागि कांग्रेसले घोषित रुपमै गठबन्धन गरेको दाबी गरे।
थापाले स्थानीय तहको निर्वाचनमा उम्मेदवार चयनमा केही गुनासो भए पनि अहिले सबै बिर्सेर गठबन्धनलाई विजयी गराउनुपर्ने जिकिर गरे।