logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपाल निर्वाचन :चुनावको तयारी कति सकियो, नयाँ मतदाताले कहाँ र कहिले पाउँछन् परिचयपत्र ?


अंकुरण खबर
1.547K
Shares

आगामी शुक्रवार हुने स्थानीय तह निर्वाचनको लगभग सबै “तयारी पूरा भएको” निर्वाचन आयोगले जनाएको छ।

देशका सबै जिल्लामा मतपत्र पुर्‍याउने कार्यदेखि मतदान अधिकृत लगायतका कर्मचारीहरू खटाउने कार्य सम्पन्न भइसकेको र उनीहरू चाँडै सम्बन्धित मतदान केन्द्रमा पुग्ने आयोगको भनाइ छ।

आयोगका अनुसार मतदान अधिकृत लगायतको टोली सम्बन्धित मतदान केन्द्रमा पुगेपछि आगामी बुधवार र बिहीवार मतदाता परिचयपत्र वितरण हुने छ।

नयाँ संविधान जारी भएपछि सङ्घीय गणतन्त्र नेपालमा दोस्रो पटक स्थानीय तह निर्वाचन शुक्रवार हुन लागेको हो।

 

कति छन् मतदाता?

 

यसपालिको चुनावमा वैशाख २९ गते अर्थात् निर्वाचनको अघिल्लो दिनसम्ममा १८ वर्ष पूरा भएका एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाताले मत खसाल्न पाउने आयोगले जनाएको छ।

त्यसका लागि देशैभरि १० हजार पाँचसय भन्दा बढी मतदानस्थल र झन्डै २२ हजार मतदान केन्द्र तोकिएको छ।

निर्वाचन आयोगको निर्वाचन व्यवस्थापन महाशाखाका प्रमुख तुलसीबहादुर श्रेष्ठ भन्छन्, “मतपत्रहरू सबै जिल्लामा पुगिसकेको अवस्था छ। त्यो मतपत्र हामी सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट सम्बन्धित मतदान अधिकृतहरूलाई बुझाउने कामहरू पनि भइरहेको अवस्था छ।”

निर्वाचन आयोगकाअनुसार यसपालिको स्थानीय तह निर्वाचनमा २४ लाख भन्दा बढी नयाँ मतदाता थपिएका छन्।

 

नयाँ मतदाताले कहिले पाउँछन् परिचयपत्र?

 

नयाँ मतदाताहरूलाई सम्बन्धित मतदान केन्द्रबाट मतदान अधिकृतले वैशाख २८ र २९ अर्थात् बुधवार र बिहीबार मतदाता परिचयपत्र उपलब्ध गाउने अधिकारीहरूको भनाइ छ।

पुरानो मतदाता परिचयपत्र हराएको वा प्रयोग योग्य नभएकाले मतदातापत्रको माग गर्दै निवेदन पेस गरेकाहरूलाई पनि त्यहि दिन मतदाता परिचयपत्र उपलब्ध गराइने आयोगको भनाइ छ।

(FROM BBC)