logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बागी उम्मेदवारले कहाँ जिते, कहाँ पार्टीलाई क्षति पुर्‍याए


अंकुरण खबर
1.261K
Shares

नेपाली कांग्रेसमा चार दशकभन्दा लामो समय आबद्ध रहेका झापा कनकाईका बासिन्दा शेरबहादुर थापाले कनकाई नगरपालिकाको मेयर पदका लागि निकै लामै कसरत गरेका थिए।

कोभिड सङ्क्रमणका बेला होस् वा अन्य कुनै विपद्का बेला, उनले कनकाईबासीका लागि सहयोगका धेरै काम गरेको नेपाली कांग्रेसका कार्यकर्ता बताउँछन्।

जब स्थानीय तहको निर्वाचनका लागि मनोनयन पत्र दर्ता गर्ने दिन आयो, उनले टिकट पाएनन्।

पार्टीको प्रदेश समितिको बैठकसम्म टिकटका लागि उनी धाए। तर पार्टीले उनलाई टिकट नदिएपछि मध्यरातमा सामाजिक सञ्जालमा जसरी पनि मेयर पदममा उठ्ने उल्लेख गरे।

चुनाव प्रचारका बेलामा कांग्रेसका नेता तथा कार्यकर्ताले एउटा निचोड निकाले।

‘शेरबहादुरले आफू त जित्दैनन्। तर कांग्रेसको मत चाहिँ प्रशस्तै काट्छन्’

जब मतगणनाको नतिजा आयो, त्यस्तै देखियो।

कांग्रेसका उम्मेदवार रुद्रप्रसाद चिमरियाको ६ हजार ६ सय ६१ मत आएको थियो। थापाले ५ हजार ६ सय ९१ मत पाए।

दुवैजनाको मत जोड्दा कांग्रेस जितको सम्भावना धेरै देखिएको कार्यकर्ता बताउँछन्।

 

बागी उम्मेद्वारको जित

 

झापा गाउँपालिका ३ मा वडाध्यक्षमा कांग्रेसकै ‘बागी’ उम्मेदवार सुवासलाल गणेश वडाध्यक्षमा निर्वाचित भएका छन्।

वर्षौँदेखि कांग्रेसमा आस्था राखेर पनि वडाध्यक्षको उम्मेदवारी दिन उनले पार्टीबाट नपाएपछि उनले आफ्नै तरिकाले उम्मेदवारी दिए, निर्वाचित पनि भए।

झापाको बाह्रदशी गाउँपालिका वडा नं ४ मा पनि कांग्रेसका बागी उम्मेदवार विजयी भएका छन्।

कांग्रेसका पुराना क्रियाशील सदस्य महताव आलमले पार्टीबाट टिकट नपाएपछि बागी उम्मेदवारी दिएका थिए।

उनले प्यानल नै खडा गरेर चुनावमा भिडेका थिए। उनको प्यानलका सबै उम्मेदवार विजयी भएका छन्।

सर्लाहीका चन्द्रनगर गाउँपालिका वडा नं ४ मा नेपाली कांग्रेसबाट टिकट नपाएपछि आफैँ उम्मेदवारी दिएका राजीवसिंह दनुवार विजयी बने।

उनी नेपाली कांग्रेसका क्षेत्रीय प्रतिनिधि पनि थिए। उनी मात्र होइन उनका बुवा पनि नेपाली कांग्रेसमै आस्था राख्थे।

 

महोत्तरीको बर्दिबासमा जसले मेयर जिते

 

प्रदेश २ को महोत्तरीको बर्दिबास नगरपालिकामा मनोनयन दर्ता गर्ने दिन नै मेयर पदका आकाङ्क्षी प्रह्लादकुमार क्षेत्रीलाई पार्टीको आधिकारिक उम्मेदवारी दर्ता गर्न नेपाली कांग्रेसले वञ्चित गरायो।

तर उनले मनोनयन दर्ता गराए, चुनाव लडे। अन्ततः चुनाव जितेरै छाडे।

उनले प्यानल नै बनाएर चुनाव लडेका थिए।

उनकै प्यानलमा रहेकी उपमेयरकी उम्मेदवार तारादेवीले जितिन्।

 

एमाले र माओवादी केन्द्रका पनि बागी

 

रुकुमको त्रिवेणी गाउँपालिका १ मा माओवादी केन्द्रका एकजना कार्यकर्ता सुन्दर ओली सोही वडाको वडाध्यक्षको आकाङ्क्षी थिए।

उनलाई माओवादी केन्द्रले टिकट नदिएपछि उनले आफैँ उम्मेदवारी दिए।

अन्ततः वडाध्यक्षमा उनी निर्वाचित पनि भए।

(from BBC)