logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

व्यापारीलाई धम्क्याएर ७ करोड माग गर्ने सात जना पक्राउ


अंकुरण खबर
1.716K
Shares

व्यापारीलाई धम्क्याएर ७ करोड रुपैयाँ माग गरेको आरोपमा ७ जना पक्राउ परेका छन् । नेपाल प्रहरीको काठमाडौं उपत्यका अनुसन्धान कार्यालयको टोलीले काठमाडौं उपत्यकाका विभिन्न ठाउँबाट उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।

पक्राउ पर्नेमा उदयपुरको त्रियुगा–१० घर भइ हाल काठमाडौंको गोठाटार बस्ने २१ वर्षीय सुजन आचार्य, कालिकोटको सान्नित्रिवेणी–८ घर भइ काठमाडौंको बुढानीलकण्ठ बस्ने २९ वर्षीय टेक विक, बझाङको खप्तडछान्ना–७ घर भइ काठमाडौंको कोटेश्वर बस्ने २९ वर्षीय धर्मराज थापा, काभ्रेको तेमाल–२ घर भइ काठमाडौंको काँडाघारी बस्ने ३३ वर्षीय रमेश भण्डारी रहेको प्रहरीले जनाएको छ ।  यस्तै गुल्मीको धुरकोट–२ घर भइ काठमाडौंको रातोपुल बस्ने २९ वर्षीया बसन्ता खनाल, चितवनको भरतपुर–११ घर भइ काठमाडौंको सिनामंगल बस्ने ३२ वर्षीय वर्षीय सुरज शर्मा र काठमाडौंको सिनामंगल बस्ने ३३ वर्षीय श्रवण कार्कीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

कालिकोटका टेक विक नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको कार्यकर्ता भएको खुलेको छ। यसअघि नेकपा एमालेका नेता तथा सांसद्‌ गोकुल बास्कोटाको भक्तपुरस्थित घरमा बम राखेको आरोपमा पनि उनी पक्राउ परेका थिए ।

यस्तै पक्राउ परेका सुजन आचार्य यसअघि पनि नक्कली हिरा देखाएर ठगी गरेको तथा लुटपाटको आरोपमा मकवानपुरमा पक्राउ परेको प्रहरीले जनाएको छ । आफूलाई पत्रकार हुँ भन्दै उनले अरु व्यक्तिलाई पनि ठगी गरेको देखिएको अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ ।

पक्राउ परेका सातै जनालाई थप अनुसन्धान र आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ ।

Avatar

Avatar

Avatar

Avatar

Avatar

Avatar

Avatar