logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

दाहालको मृत्यु शंकास्पद भएको भन्दै दिक्तेलमा विरोध प्रदर्शन


अंकुरण खबर
1.144K
Shares

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका ६३ वर्षीय मणिराम दाहालको शंकास्पद मृत्यु भएको भन्दै आफन्तले छानबिनको माग सहित विरोध प्रदर्शन गरेको छ । दाहालको मृत्युका विषयमा छानबिन गरी दोषी पत्ता लगाइनुपर्ने माग सहित आफन्तले शनिबार जिल्ला अस्पतालदेखि जिल्ला प्रशासन कार्यालयसम्म नारा जुलुस निकालेका छन् ।

मृतकका आफन्त ‘मणिरामलाई न्याय दे, मोबाइल सार्वजनिक गर, घटस्थास्थलमा खटिएका प्रहरीलाई बर्खास्त गर’ लगायतका नारा लगाउँदै प्रशासन पुगेका हुन् । शवको जिल्ला अस्पतालमा पोस्टमार्टम गरिए पनि आफन्तले शव बुझ्न अस्वीकार गर्दै नारा जुलुसमा उत्रिएका थिए ।

दाहाल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलको हाटडाँडास्थित क्षितिज बहुउद्देश्यीय सहकारीको कार्यालय रहेको घरको आफ्नै कोठामा शुक्रबार बिहान मृत फेला परेका थिए । घटनाको सरजमिन मुचुल्का तयार पार्नेक्रममा दाहालको साथमा भएको मोबाइल हराएको भन्दै आफन्तले घटनालाई थप शंकास्पद मानेका छन् । घटनाको प्रकृति ‘मृत्यु नभै हत्या भएको’ छोरा नवराज दाहालले बताए ।

दाहालको शव सड्न लागेको र पहिचान गर्नै नसकिने अवस्थामा आफन्तले फेला पारेर खबर गरेका थिए । शव कोठामा खाटमा नभै भुईँमा सिरकले ढाकेको अवस्थामा भेटिएको थियो । मुखबाट रगत निस्किएको, आँखामा नीलडाम लागेको, नाइटो भन्दा माथिल्लो भाग निलो भएको अवस्थामा दाहालको शव भेटिएको स्थानीय भोजराज अधिकारीले बताए । दाहाल बस्दैआएको दुई कोठामध्ये एउटा कोठा लिपपोत गरिएको र र्‍याल चुहिएको पाइएको छ । घटना प्रकृति शंकास्पद देखिएकाले सुक्ष्मढंगबाट अनुसन्धान गर्नुपर्ने आफन्तको माग छ ।

दाहालको मृत्युका विषयमा अनुसन्धान गर्न समिति गठन

दाहालको रहस्यमय मृत्यु भएको विषयमा प्रहरी निरीक्षक शंकरप्रसाद चौधरीको संयोजकत्वमा अनुसन्धान समिति गठन गरिएको छ । जुलुस प्रदर्शनपछि जिल्ला प्रशासन कार्यालयमा मृतकका आफन्त प्रशासन, प्रहरी लगायतको वार्ताले पाँच सदस्यीय अनुसन्धान समिति बनाएको हो ।
समितिको सदस्यमा प्रहरी नायव निरीक्षक गोविन्दकुमार खत्री, प्रहरी सहायक निरीक्षक कुमार विष्ट, प्रहरी हवलदार विपिन योगी, प्रहरी हवलदार कैलाश लिम्बु र प्रहरी जवान सोमप्रसाद पहाडी राखिएका छन् ।

छलफलमा समितिमार्फत यथाशीघ्र सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्ने निर्णय भएको छ । अनुसन्धान समिति बनाउने निर्णयसँगै मृतकका आफन्त शव बुझ्न तयार भएको वडाध्यक्ष खगेन्द्र राईले बताए ।

मृतक दाहाल नेपाल पत्रकार महासंघ जिल्ला शाखाका संस्थापक सदस्य, नेपाल प्रेस युनियन जिल्ला शाखाका संस्थापक सह–संयोजक थिए । उनी क्षितिज बहुउद्देश्यीय सहकारी संस्थाको वर्तमान अध्यक्ष, ट्रेड युनियन कांग्रेसका पूर्वअध्यक्ष र कांग्रेसका क्षेत्रीय प्रतिनिधि थिए ।