नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशका १२२ स्थानीय तहमा पार्टीले प्राप्त गरेको जितले माओवादीलाई प्रभावशाली बनाएको राष्ट्रिय राजनीतिमा निर्णायक शक्तिको रूपमा स्थापित गरेको दाबी गरेका छन् ।
प्रचण्डले पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरूलाई प्रशिक्षण दिने क्रममा बुधबार भने ‘हामी १२२ स्थानीय तहमा छौं । १२२ त्यस्तो १२२ हो, जो राजनीतिलाई प्रभावित पार्न सक्ने, देशलाई कता मोड्ने हो त्यतै मोड्नसक्ने तागतसहितको तेस्रो छौं हामी’ ।
उनले अलिक मिहेनत गर्न समय भएको भए र २०७४ सालमा मधेस र पहाडमा जितेका स्थानीय हार्ने स्थिति नभएको भए माओवादी दोस्रो दल हुने पनि बताए । पार्टी नेतृत्वको तहबाट आफूले पार्टीलाई दोस्रो दल बनाउन चाहेको उनको भनाइ छ ।
तर, गठबन्धन अपेक्षा गरेजस्तो नबन्नु र गाउँ-नगरपालिकामा भने माओवादी बलियो भएको ठाउँमा गठबन्धन नै नभए जस्तो भएको बताए ।
यद्यपि, प्रचण्डले गठबन्धन पूरै असफल भयो भन्न नचाहेको बताए । एमालेलाई पहिलो हुनबाट छेक्ने उद्देश्य पूरा भएको सङ्केत गर्दै उनले भने, ‘जुन उद्देश्यका लागि गठबन्धन बनेको थियो, त्यो उद्देश्य प्राप्त भएको छ ।’
अब हुने प्रदेश र सङ्घीय निर्वाचनमा भने गठबन्धनभित्र माओवादीको स्वरुप बदल्नुपर्ने बताए । माओवादी यसअघि अलिक बढी उद्धार र अलिक बढी गठबन्धनप्रति भरोसा गर्ने दल बनेको प्रचण्डले बताए ।
बिग्रे पनि सप्रे पनि अझ कयौं दशकसम्म दलहरूले नै देश चलाउने हो
कार्यक्रममा अध्यक्ष प्रचण्डले माओवादी केन्द्रले गर्ने जस्तो व्यवहारका कुरा गरेका केही स्वतन्त्र उम्मेदवारले स्थानीय तहमा जिते पनि अझै कयौँ दशक राजनीतिक दलले नै देश चलाउने बताएका छन् ।
केही स्वतन्त्र मान्छेहरूलाई जनताले पालिका प्रमुखमा जिताएपछि केही साथीहरूले अब भोली स्वतन्त्रले सबै पलिका लैजान्छ की के हो भने जस्तो गरे पनि त्यस्तो नहुने उनले बताए । नेकपा माओवादी केन्द्रले आयोजना गरेको जनप्रतिनिधिहरूको अभिमुखीकरणका क्रममा उनले यस्तो भ्रममा नपर्न आग्रह गरे ।
उनले एक जना स्वतन्त्र रुपमा विजयी पालिका प्रमुख आफ्नै कार्यक्रममा समेत सहभागी भएको बताए । उनले भने, ‘स्वतन्त्रमा विजयी केही साथीहरू स्वतन्त्र हुन्, स्वतन्त्र होइनन् । काठमाडौं र धराका प्रमुख भने अलि भिन्न तरिकाले आए । यसबाहेक अरु कोही स्वतन्त्र मैले ठानेको छैन ।’ यि भिन्नहरूले पनि माओवादीको जस्तै कुरा गरेको उनले बताए । यही कारणले जनताले मत दिएको उनको दाबी छ । स्वतन्त्रको यो जितलाई सबकका रुपमा लिनु पर्ने उनको भनाइ छ ।