logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

दशरथचन्दको पहिलो कार्यपालिका बैठक : सदरमुकामको खानेपानी व्यवस्थित गरिने


अंकुरण खबर
1.196K
Shares

बैतडीको दशरथचन्द नगरपालिका नगर कार्यपालिकाको पहिलो बैठक आज सम्पन्न भएको छ । बैठकले नगर कार्यपालिकाका विषयगत समितिहरू गठन गरेको छ ।

नगरपालिकाका मेयर पुष्करराज जोशी (लख्खाभाइ)को अध्यक्षतामा आज बसेको कार्यपालिका बैठकले विषयगत समिति गठन गर्नुका साथै जिल्ला सदरमुकामको खानेपानी व्यवस्थापनका विषयमा निर्णय गरेको छ ।

नगर कार्यपालिकाका विषयगत समिति अन्तरगत सुशासन तथा संस्थागत विकास समिति संयोजकमा हरिदत्त बडू, आर्थिक विकास समिति संयोजकमा जयदत्त पन्त, सामाजिक विकास समिति संयोजकमा मोहनदेव जोशी, पूर्वाधार विकास समिति संयोजकमा आज पाण्डेय, वन वातावरण तथा विपद् व्यवस्थापन समिति संयोजकमा भानदेव भट्टलाई चयन गरिएको छ ।

कार्यपालिकाको पहिलो बैठकले जिल्ला सदरमुकामको खानेपानीलाई व्यवस्थित गर्ने निर्णय गरेको छ । नगरपालिकाका वडा नम्बर ४, ५, ६ र ८ मा १२ सय घरधुरीका लागि सञ्चालित बृहत् खानेपानीलाई व्यवस्थित गर्न सुतेगाड मुहानबाट आउने पानी व्यवस्थित गरिने निर्णय भएको छ । उक्त खानेपानी व्यवस्थित गर्न विस्तृत सर्भे डिजाइन तयार गर्ने निर्णय गरिएको हो । यसअघि वडा नम्बर ४ को वडा समिति बैठकले समेत खानेपानी समस्या समाधानको माग गरेको थियो ।

यसका साथै बैठकमा शव वाहन सञ्चालनका विषयमा छलफल भएको छ । यसअघिनै नगरवासीलाई निःशुल्क शव वाहन उपलब्ध गराउने कार्यको सुरुवात गरिसकेको नगरपालिकाले आफ्नै शव वाहन खरिद नगर्दा सम्म जिल्ला अस्पतालसँग समन्वय गर्ने तथा नगरपालिकाको टिप्परको प्रयोग गर्ने जनाएको छ ।

नगरप्रमुख जोशीले नगर बस सञ्चालन, निःशुल्क शव वाहन तथा एम्बुलेन्स सञ्चालन गर्ने प्रतिबद्धता यसअघि नै गरेका थिए ।