गैरआवासीय नेपाली संघले म्यानमार र थाइल्याण्डमा रहेका नेपालीलाई परिचय पत्र दिन आग्रह गरेको छ ।
शनिबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटी एनआरएनएका कार्यकारी अध्यक्ष अध्यक्षद्वय कूल आचार्य र डा.बद्री केसी नेतृत्वको टालीले भेटी प्रधानमन्त्री देउवालाई यस्तो आग्रह गरेका हुन् ।
भेटमा क्रममा प्रधानमन्त्री देउवाले प्रतिनिधि मण्डलले उठाएका विषयमा चासो लिँदै त्यस विषयप्रति सरकार सकारात्मक रहेको बताएका छन् ।
एनआरएनएका कार्यकारी अध्यक्ष आचार्य र अध्यक्ष केसीले गैरआवासीय नेपाली नागरिकता, गैरआवासीय नेपालीको लगानी, वैदेशिक रोजगार तथा सामाजिक सुरक्षा, विदेशमा बस्ने नेपालीको मताधिकारको विषयका साथै म्यानमार र थाइल्याण्डमा रहेका नेपालीको पहिचानको समस्याबारे अवगत गराएका थिए ।
उनीहरूलाई गैरआवासीय नेपाली परिचय पत्र उपलब्ध गराउन अनुरोध गरेका छन् । यसरी नै अध्यक्षद्वयले नेपाल सरकारले पेस गरेको नीति, कार्यक्रम तथा बजेटमा गैरआवासीय नेपाली संघले उठाउँदै आएका धेरैजसो विषय सम्बोधन भएको र बाँकी
पनि छिट्टै संभोधन हुनेमा आफुहरु विश्वस्त रहेको बताए ।
भेटघाटमा उपाध्यक्ष नरेन्द्र भाट, उपाध्यक्ष दुर्गा आचार्य, महासचिव डा. केशव पौडेल, उपमहासचिव नारायण काफ्ले, मध्यपूर्वका क्षेत्रीय उपसंयोजक अमित राई, एनसीसी पोर्चुगलका प्रतिनिधि नरेन्द्र हमाल लगायतका गैरआवासीय नेपालीको सहभागिता थियो ।
प्रतिनिधि मण्डलले गैरआवासीय नेपाल संघले १६ जुन २०२२ मा आयोजना गर्न लागेको कार्यशालामा प्रधानमन्त्री देउवालाई निमन्त्रणा गरेका छन् ।