logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन नियमावली संशोधन, अब विपद् कोषको रकम पुनर्निर्माणमा खर्च गर्न पाइने


अंकुरण खबर
1.053K
Shares

गृह मन्त्रालयले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन नियमावली, २०७६ संशोधन गरेको छ ।

केही बुँदा संशोधन गरी नियमावलीको नाम ‘विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन (प्रथम संशोधन) नियमावली, २०७९’ दिइएको छ ।

संशोधन गरिएको नियमावलीमा विपद् पश्चातको पुननिर्माण तथा पुनस्र्थापन सम्बन्ध कार्ग गर्न र गराउन पाइने बनाइएको छ ।

संशोधन गरिएअनुसार अब विपद् कोषमा रहेको रकम विपद् पूर्व तयारी, जोखिम न्यूनीकरण, विपद् प्रतिकार्य र विपद् पश्चातको पुननिर्माण तथा पुनस्र्थापना सम्बन्धी कार्यमा प्रयोग गर्न पाइने छ ।

‘यस नियमावलीमा अन्यन्त्र जुनसुकै कुरा लेखिएको भए तापनि यो नियम प्रारम्भ भएपछि उपदफा (२) बमोजिम विपद् व्यवस्थापन कोष सञ्चालन गर्ने प्रयोजनका लागि विपद् प्रतिकार्य सम्बन्धी कार्य मन्त्रालय र विपद् पूर्व तयारी, विपद् जोखिम न्यूनीकरण तथा विपद् पश्चातको पुननिर्माण तथा पुनस्र्थापना सम्बन्धी कार्य प्राधिकरणबाट हुनेछ,’ संशोधन नियमावलीमा भनिएको छ ।

कोषको सञ्चालन विपद् प्रतिकार्यको हकमा मन्त्रालयको सचिव वा निजले तोकेको अधिकृत कर्मचारी र लेखा शाखाको प्रमुखको संयुक्त दस्तखतबाट हुनेछ ।

विपद् पूर्व तयारी, विपद् जोखिम न्यूनीकरण तथा विपद् पश्चातको पुनर्निर्माणको हकमा प्राधिकरणको कार्यकारी प्रमुख वा निजले अख्तियारी दिएको प्राधिकरणको अधिकृत कर्मचारी र प्राधिकरणको आर्थिक प्रशासन हेर्ने शाखा प्रमुखको संयुक्त दस्तखतबाट हुने व्यवस्था गरिएको छ ।