सगरमाथाको आधार शिविर सार्ने तयारी
जलवायु परिवर्तनसँगै सगरमाथा आधार शिविरमा मानवीय गतिविधि बढ्दै जाँदा आधार शिविर मासिने क्रम बढेपछि आधार शिविर सार्ने तयारी भएको छ ।
पर्वतारोहण व्यवसायको दिगोपनका लागि हिमाली क्षेत्रमा देखिएको समस्याले सिङ्गो पर्यटकीय क्षेत्र नै धरापमा पर्ने अवस्था आएको भन्दै आधार शिविर सार्ने तयारी भइरहेको सरकारी अधिकारीले बताएका छन् ।
जलवायु परिर्वतनसंँगै बढ्दो मानवीय गतिविधिका कारण हिमपहिरो आउने, हिमताल फुट्ने, हिमाली जैविक विविधता मासिने जस्ता कुरालाई दृष्टिगत गरी पाँच हजार ३६४ मिटर उचाइमा रहेको सगरमाथा आधार शिविर सार्ने तयारी भइरहेको छ ।पर्यटन विभागका निर्देशक सूर्यप्रसाद उपाध्यायका अनुसार आधार शिविर सार्नेबारे सम्भावना र सुरक्षा चुनौतीलाई आधार मानेर प्रारम्भिक अध्ययनतर्फ सरकारले ध्यान दिएको छ ।
खुम्बु क्षेत्र समन्वय समितिले स्थलगत अध्ययन र अवलोकनपछि आधार शिविर सार्नेबारे पर्यटन विभागलाई सुझाएको छ । समितिले अबको दुई साता भित्र कति मिटर तल बेस क्याम्प सार्ने भन्नेबारे प्रतिवेदन बुझाउने तयारी गरेको छ । सोही प्रतिवेदनको आधारमा बाह्रैमास हिउँ नपर्ने ठाउँमा नयाँ आधार शिविर राख्ने सम्बन्धित सबै पक्षसँग परामर्श गरिने भएको छ । गोरखापत्र दैनिकबाट ।
राजस्व सङ्कलनको लक्ष्य भेट्न मुस्किल
पछिल्लो समय विभिन्न शीर्षकमा सङ्कलन हुने करका दर र राजस्व उठाउने सेवालाई प्रभावकारी बनाएको दाबी गर्दै आएको सरकारलाई यस वर्ष राजस्व सङ्कलनको लक्ष्य भेट्न मुस्किल पर्ने भएको छ ।
आन्तरिक राजस्व विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्षको बितेका ११ महिनाको अवधिमा जेठ मसान्तसम्मको तथ्यांकअनुसार राजस्व सङ्कलनको लक्ष्य भेट्न मुस्किल पर्ने अवस्था देखिएको हो ।
विभागले सार्वजनिक गरेको विवरणअनुसार हाल वैदेशिक मुद्रा सञ्चिती, पुँजीगत खर्च, हरेक वस्तुको आयात नियन्त्रणमा असफलता लगायत अधिकांश सूचकमा देश आर्थिक रूपले कमजोर बन्दै गएको अवस्थामा सरकारले चालू आवमा राजस्व सङ्कलनको लक्ष्यसमेत भेटाउन नसक्ने अवस्था देखिएको छ । विभागले यस अवधिमा सबै शीर्षकमा गरी जम्मा ८८ दशमलव ४ प्रतिशत मात्र राजस्व सङ्कलन भएको जनाएको छ । आजको राजधानी दैनिकमा समाचार छ ।
विदेशको कमाइ स्वदेशमा अर्कैको रजाइँ
मरुभूमिमा पसिनाका थोपा-थोपा सिँचाइ गरेर आर्जेको सम्पत्ति लिई गाउँ फर्केर परिवारका साथ सुखी जीवन बिताउने भनी हरेराम साइले देखेको सपना तुहिएको छ।
बारा जिल्ला कमोवा गाउँका हरेराम दुबईबाट आफ्नो गाउँ फर्किएपछि पाँच वर्षअघि उनले देखेको सपना क्षणभरमा तुहियो। पत्नी सुनैनाले आफ्नो नानको सम्पत्तिसहित नयाँ पति बनाएको थाहा पाएपछि हरेराम छाँगाबाट खसे । उनले भने, “उनलाई खुसी पार्न के के गरिन, सिसौनगढमा किनेको १० धुर घडेरी सुनैनाकै नाममा पास गराएँ। छोराछोरीको पढाइका लागि सदरमुकाम कलैयामा आऊ धुर जग्गा जोडेँ। त्यो जग्गा पनि उनकै नामबाट रजिस्ट्रेसन पास गराएँ। तैपनि मलाई धोका दिई उनले नयाँ पति वरण गरिन्।
हरेरामले बैदेशिक रोजगारीका क्रममा श्रीमती मात्र गुमाएनन्, पाँच वर्षसम्म दिनरात मेहनत गरी कमाएको सम्पत्तिसमेत गुमाउनु पर्यो। हरेराम छोराछोरीसहित प्रहरीमा न्यायका लागि पुगेपछि प्रहरीले सुनैनालाई झिकायो तर उनले हरेरामसँग बस्न इन्कार गरिन्।आजको गोरखापत्र दैनिकमा समाचार छ ।