वनमा लागेको डढेलो निभाउने क्रममा सल्यानमा एक पुरुषको मृत्यु भएको छ ।
जिल्लाको सिद्धकुमाख गाउँपालिका ३ डाँडाकटेरीको दुबेरीचौर र हलवारे सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा डाँडाकटेरीका ५७ वर्षीय दलबहादुर बुढाथोकीको मृत्यु भएको हो ।
सल्लाका वनबाट लिसा कम्पनीले खोटो निकालेको त्यही खोटोको बाकस बचाउन गएका बुढाथोकीको आगो निभाउने क्रममा लप्कोले भेटाउँदा शनिबार दिउँसो १२ बजेतिर जलेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
बुढाथोकीको सव पोस्टमार्टमका लागि जिल्ला अस्पताल सल्यान ल्याउन थालिएको प्रहरीले जनाएको छ ।
त्यस्तै स्विमिङ पुलमा डुबेर पोखरामा एक जनाको मृत्यु भएको छ । तेर्सापट्टिमा रहेको सीएम स्विमिङ पुलमा पौडी खेल्ने क्रममा डुबेर पोखरा-५ मालेपाटनमा बस्दै आएका १३ वर्षीय किशोर दीपेश शर्माको मृत्यु भएको हो ।
उनी शनिबार दिउँसो आमा र भाइसँग पौडी खेल्न पुगेका थिए । सुरुमा पौडी नखेल्ने सोचेका उनी एक्कासि पुलमा खसेका थिए । उनी डुबेको केही समयपछि मात्रै थाहा भएको बताइएको छ ।