पत्रकारिता त्यागेर राजनीतिमा होमिएका रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी खोलेका छन् ।
मंगलबार राष्ट्रिय सभागृहमा आयोजित समारोहमा उनले नयाँ पार्टी दर्ता गर्ने र त्यसको नाम राष्ट्रिय स्वतन्त्र पार्टी रहने बताएका हुन् ।
पार्टी घोषणा गर्दै लामिछानेले राजनीतिमा धेरै हिलो–मैलो भएका कारण त्यस्तो हिलो सफा गर्न आफु राजनीतिमा आएको बताए । उनले देशको मुहार हेर्न अब क्षमतावान व्यक्ति राजनीतिमा लाग्नुपर्ने आवश्यक्ता रहेकाले त्यस्ता व्यक्तिहरूलाई आफ्नो पार्टीमा सधै स्वागत गर्ने बताएका छन् ।
उनले खराब राजनीतिक ब्यबस्थाकै कारण धेरैको दुख देखेकाले टेलिभिजनका पर्दाबाट राजनीतिक दलका नेताहरूलाई सप्रिनुस् भन्दा नसप्रिएकाले परिवर्तन गर्न आफै राजनीतिमा आएको दाबी गरे ।
प्रश्न सोध्ने सजिलो काम छोडेर जवाफ दिने गाह्रो काम गर्न आएको बताउँदै आफू व्यवस्था बदल्न आएको भन्दा पनि जनताको अवस्था परिवर्तन गर्न राजनीतिमा आएको उनको दाबी छ ।