logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पर्यटन मन्त्री आलेलाई मन्त्रीबाट हटाउन माग गर्दै सर्वोच्चमा रिट, शुक्रबार पेशी


अंकुरण खबर
637
Shares

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेलाई मन्त्रीबाट हटाउन माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ।

अधिवक्ताद्धय किशोर कुमार पौडेल र अनुपम भट्टराईले बिहीबार सर्वोच्च अदालतमा रिट दर्ता गरेका हुन्। मन्त्री आलेले नेपाल बायु सेवा निगमका तत्कालिन कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई अश्लिल गाली गलौज गरेको अडियो भाइरल भएको थियो। अधिवक्ता किशोरकुमार पौडेलको निवेदनका आधारमा बिहीबार न्यायाधीश टंक मोक्तानको आदेशपछि सर्वोच्चले रिट दर्ता गरेको हो ।  यसअघि उक्त रिट सर्वोच्च प्रशासनले दरपीठ गरिदिएको थियो। त्यसविरुद्ध पनि पौडेलले निवेदन दिएपछि मोक्तानको इजलासले दरपीठ बेरितको देखिएको भन्दै बदर गरिदिएको थियो।

रिटमाथि शुक्रबार सुनुवाइका लागि पेशी तोकिएको छ। मन्त्री आलेको व्यवहार पटक-पटक विवादमा परेकोले पदमा बसिरहन योग्य नरहेको भन्दै निवेदन परेको थियो ।

रिटमा उल्लेख गरिएको छ ‘निज सो पदमा बसिरहन असक्षम रहेको प्रस्ट छ। निजको गैरजिम्मेवार अभिव्यक्तिले समाजलाई अपुरणीय क्षति पुगेको विषयमा यस सम्मानित अदालत जानकार छ। निज सो पदमा रहिरहँदा थप सिंगो समाज, देश, विदेशमा नकरात्मक प्रभाव पर्ने र थप क्षति पुग्ने भएकाले निजलाई मन्त्री पदमा आजकै मितिदेखि मुद्दाको अन्तिम किनारा नहुन्जेलसम्म काम नगर्नु, गर्न नदिनु भनि सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ बमोजिम विपक्षीको नाममा सुविधा सन्तुलनको रोहमा अन्तरिम आदेश जारी गरी पाउँ’,।

संसद सचिवालयमा पनि उजुरी

त्यस्तै पर्यटनमन्त्री आलेविरुद्ध संसद सचिवालयमा उजुरी परेको छ ।

यस अघि मन्त्री आलेविरुद्ध पौडेलसहितले नै मन्त्रालयमै अश्लील शब्द बोलेको भन्दै संघीय संसद सचिवालयमा पनि उजुरी दिएका थिए।