नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रीय कमिटी बैठक आजदेखि काठमाडौंमा सुरु हुँदैछ ।
स्थानीय तह निर्वाचनको समीक्षा, आगामी कार्ययोजना, वर्तमान सङ्गठनात्मक अवस्था तथा त्यसका सम्भावना, निर्वाचनमुखी कार्ययोजनालगायत विषयमा छलफल गर्न काठमाडौंको कार्की पार्टी प्यालेसमा आज र भोलि बैठक बस्न लागेको हो ।
बैठकमा देशव्यापीरूपमा भएका साङ्गठनिक विस्तार, राजनीतिक गतिविधि, जनसरोकारका विविध कार्य, जनतासँग भएका अन्तर्क्रियाका साथै प्राप्त भएका राजनीतिक उपलब्धिका बारे समीक्षा हुने, जिल्ला, प्रदेशका वस्तुगत अवस्थाको सम्बन्धित नेताबाट रिपोर्टिङ हुने पार्टीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
पार्टी स्थापना भएको करिब आठ महिनाको अवधिमा पार्टीको निर्णय मान्न अटेर गर्ने आफ्नातर्फका मन्त्रीबारे पनि छलफल हुने अर्का एक नेताले बताए । यसअघि हिजो बसेको पोलिटब्यूरो बैठकमा पनि मन्त्रीहरूबारे छलफल भएको थियो । त्यो बैठकमा अध्यक्ष माधव नेपालले आफ्ना मन्त्रीहरूलाई पदप्रतिको लोभ नगर्न आग्रह गरेका थिए ।
राजनीतिक, आर्थिक, साङ्गठनिक प्रतिवेदनमा समेत छलफल गरिने बैठकमा अधिकांश सदस्यले आउने संघ र प्रदेशको निर्वाचनमा पार्टी व्यापक तयारी गरेर एक्लै निर्वाचनमा जानुपर्ने सुझाब दिने बुझिएको खतिवडाले बताए ।
गठबन्धनलाई आगामी निर्वाचनसम्म निन्ततरता दिने पक्षमा पार्टी रहेको भए पनि गठबन्धनले आफ्नो पार्टीलाई न्यायोचित व्यवहार नगरेमा आवश्यक निर्णय लिन स्वतन्त्र रहेको र परिस्थिति परिवर्तन पनि हुनसक्ने हिजोको बैठकको आशाय रहेको छ ।