सत्तारुढ गठबन्धनले पेट्रोलियम पदार्थको मूल्यमा भारी मात्रामा कटौती गर्न सरकारलाई निर्देशन दिने निर्णय गरेको छ।
शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सो निर्णय गरेको माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए।
‘प्रप्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न गठबन्धन बैठकले बढ्दो महङ्गी नियन्त्रण गर्न र जनताको जिविकामा सहुलियत दिन पेट्रोलियम पदार्थको मूल्यमा भारी मात्रामा कटौती गर्न सरकारलाई निर्देशन दिने निर्णय गरेको छ’ उनले भनेका छन् । सरकारले उक्त विषयलाई आजकै दिनदेखि पेट्रोलियम पदार्थमा लगाएका कर कटौती गरी लागू गर्ने उनले बताए।
‘सरकारले उक्त विषयलाई आजैका दिन देखि पेट्रोलियम पदार्थमा लगाएका करहरु कटौती गरी लागू गर्नेछ,’ उनले भनेका छन्, ‘उक्त निर्णय लागू गरेमा डिजेल र पेट्रोलको मूल्यमा प्रतिलिटर झण्डै ३० देखि २५ रुपैयाँसम्म मूल्य घट्ने देखिन्छ।’
सरकारले बजार अनुगमनलाई पनि कडाइ गर्ने सहमति गठबन्धनको बैठकमा भएको कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिए। ‘मैले सरकारले बजारमा हस्तक्षेप गरेर मूल्यवृद्धि नियन्त्रण गर्नुपर्ने प्रस्ताव गरेको हो।
खाद्य संस्थान र साल्ट ट्रेडिङमा नागरिकलाई सस्तोमा उपभोग्य सामान उपलब्ध गराउनुपर्ने अवस्था आइसकेको छ। सरकारले राज्यका सबै निकायलाई प्रयोग गरेर मूल्यवृद्धिलाई नियन्त्रण गर्नुपर्छ।’