नेपालका लागि नव–नियुक्त भारतीय राजदूत श्री नवीन श्रीवास्तव आज शनिबार काठमाडौं आइपुगेका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीलाई ओहदाको प्रमाणपत्र बुझाएपछि उनले औपचारिक रुपमा कार्यभार सम्हाल्नेछन्। काठमाडौं आउनुअघि उनी नयाँ दिल्लीमा चीन, जापान, कोरिया र मङ्गोलिया मामिला हेर्ने पूर्वी एसिया डिभिजन प्रमुखको रुपमा कार्यरत थिए।
उनले पूर्वी लद्दाख सीमा विवादबारे चीनसँग विभिन्न चरणमा कूटनीतिक वार्ता गर्न भारतीय वार्ता टोलीको नेतृत्व पनि गरेका थिए। श्रीवास्तवले सन् २०१५ देखि २०१७ सम्म कम्बोडियाका लागि भारतीय राजदूतका रुपमा काम गरिसकेका छन्।
साथै उनले वासिङटन, बेइजिङ, सांघाई र हङकङमा विभिन्न जिम्मेवार पदमा रही काम गरेका छन्।
यसअघि पूर्व राजदूत विनयमोहन क्वात्रा हाल भारतको विदेश सचिव नियुक्त भएर फर्किएपछि नेपालमा भारतीय राजदूतको स्थान खाली थियो।